भेनेजुएलाका पदच्युत नेता निकोलस मादुरोले अमेरिकी हिरासतमा रहँदा आफू ‘दृढ रूपमा उभिरहेको’ बताएका छन्। अमेरिकी सेनाद्वारा यसै वर्षको सुरुवातमा पक्राउ परेका मादुरोले न्युयोर्कस्थित जेलबाट आफ्ना तस्बिरहरू सार्वजनिक गरेका हुन्।
मादुरोले आइतबार टेलिग्राममार्फत तस्बिरहरू पोस्ट गर्दै परिवार र समर्थकहरूका लागि सन्देश पठाएका छन्। लागूऔषध तस्करी र हतियारसम्बन्धी मुद्दाको सामना गरिरहेका मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस हाल ब्रोकलिनस्थित जेलमा थुनामा छन्। दुवैले आफूमाथि लागेका आरोपहरू अस्वीकार गर्दै आएका छन्।
मादुरोले सन्देशमा लेखेका छन्, ‘म मेरा नातिनातिनाहरू, बालबालिकाहरू र हामीलाई माया गर्ने सबै असल मानिसहरूका लागि यी तस्बिरहरू सानो उपहारका रूपमा पठाउँदै छु। हामी तपाईँहरूको मायाले भरिएको हृदयका साथ दृढ उभिएका छौँ भन्ने कुरा तपाईँहरूले थाहा पाएको चाहन्छु।’
सार्वजनिक दुई तस्बिरहरूमा मादुरोले खैरो रङको ट्र्याकसूट लगाएका छन् र दुवै हातले शान्तिको सङ्केत बनाएका छन्। पक्राउ पर्नुअघिका तस्बिरहरूको तुलनामा उनी निकै दुब्लो देखिएका छन्।
तस्बिरहरू आइतबार सार्वजनिक भए पनि तिनको मेटाडाटाले ती जुन २५ मा खिचिएको देखाएको छ। त्यो दिन उत्तरी भेनेजुएलामा दुई शक्तिशाली भूकम्पका कारण ६,५०० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै व्यापक विनाश भएको थियो।
मादुरोले थपेका छन्, ‘हामी बलियो, शान्त र विश्वस्त रहनेछौँ: परमेश्वर हाम्रा साथमा हुनुहुन्छ। परमेश्वरले व्यवस्था गर्नुहुनेछ। भेनेजुएला पुनः उठ्नेछ।’
मादुरोको यो सन्देश भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग ‘ऐतिहासिक’ तेल सम्झौताको घोषणा गरेको दुई दिनपछि आएको हो। सो सम्झौताले अमेरिकालाई भेनेजुएलाका तेल क्षेत्रहरू सञ्चालन गर्ने अनुमति दिएको छ।
वासिङ्टनको तीव्र दबावमा काम गरिरहेकी रोड्रिगेजले भेनेजुएलालाई ‘ऊर्जाको केन्द्र’ बनाउन अमेरिकासँग कूटनीतिक बाटो रोजेको बताएकी छिन्। मादुरोको बर्खास्ती र हिरासतपछि काराकास र वासिङ्टनबिचको सम्बन्धमा यो ठुलो परिवर्तन मानिएको छ।
जेलमा रहँदा मादुरोलाई पत्रपत्रिका वा इन्टरनेटको पहुँच दिइएको छैन। तर उनी निकट स्रोतका अनुसार उनलाई परिवारका सदस्य र वकिलहरूसँग महिनामा करिब ३०० मिनेट कुरा गर्न अनुमति दिइएको छ, जहाँ प्रत्येक कल १५ मिनेटमा सीमित गरिन्छ।
उनका छोरा निकोलस मादुरो गुएराका अनुसार उनका बुबाको स्वास्थ्य अवस्था राम्रो छ र उनी धेरैजसो समय बाइबल अध्ययनमा बिताउँछन्। न्युयोर्कको सङ्घीय अदालतले मादुरो र उनकी पत्नीविरुद्धको मुद्दाको सुनुवाइ २०२७ जुन १ देखि सुरु गर्ने तालिका तय गरेको छ।






