काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भन्दै नक्सा सार्वजनिक गरेका छन् । ट्रम्पले ट्रुथ सोसलमा सार्वजनिक गरेको नक्सामा होर्मुज क्षेत्रलाई घेरिएको छ। यसअघि उनले इरानलाई पराजित गरेपछि होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका थिए।
इरानले भने ट्रम्पको दाबी अस्वीकार गर्दै जलडमरूमध्यमाथि आफ्नो नियन्त्रण कायम रहेको जनाएको छ। इरानी अधिकारीहरूले अमेरिकाले युद्ध र नाकाबन्दी अन्त्य नगरेसम्म होर्मुज बन्द राख्ने चेतावनी दिएका छन्। यसैबीच, सीएनएनका अनुसार पछिल्ला दुई सातामा होर्मुजबाट हुने जहाज आवागमनको ८० प्रतिशतभन्दा बढी ओमानतर्फको सामुद्रिक मार्गबाट भएको छ। जहाजको ट्रान्सपोन्डर र स्याटेलाइट तथ्यांकका आधारमा इरानले जलमार्गमाथिको आफ्नो नियन्त्रण आंशिक रूपमा गुमाएको विश्लेषण गरिएको छ।
अमेरिकी नौसेनाको उपस्थितिका कारण केही तेल ट्यांकरले इरानको चेतावनी बेवास्ता गर्दै ओमानतर्फको मार्ग प्रयोग गर्न थालेका छन्। कतिपय ट्यांकरले निगरानीबाट बच्न ट्रान्सपोन्डर बन्द गरेर ‘डार्क ट्राफिक’ समेत अपनाएका छन्। यद्यपि, विश्लेषकहरूले होर्मुजमाथि अमेरिकाको पनि पूर्ण नियन्त्रण नरहेको बताएका छन्। इरानले अझै जहाज आवागमनमा अवरोध पुर्याउन सक्ने क्षमता राखेको उनीहरूको भनाइ छ।
यसरी पछिल्लो अवस्थाले होर्मुजमा इरानको प्रभाव कमजोर बन्दै गएको देखाए पनि जलडमरूमध्यमाथि पूर्ण नियन्त्रण कसैको नरहेको विश्लेषकहरूको निष्कर्ष छ।






