काठमाडौं । गोरखाको उत्तरी क्षेत्रमा अवस्थित उपल्लो नुब्री उपत्यकाको सुन्दर गाउँ श्याला प्राकृतिक सौन्दर्य, अग्ला हिमशृङ्खला र शान्त वातावरणका कारण पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै गएको छ। समुद्री सतहबाट करिब ३ हजार ५०० मिटर उचाइमा रहेको श्यालाबाट मनास्लुसहित आसपासका दर्जनौँ हिमचुचुराको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
विशेषगरी सूर्योदयको समयमा हिमालका सेताम्मे चुचुरामा पर्ने पहिलो सूर्यकिरणले श्यालाको सौन्दर्यलाई झनै आकर्षक बनाउँछ। बिहानको माइनस ७ डिग्रीसम्मको चिसो मौसममा पनि हिमालको सुनौलो दृश्य हेर्न पर्यटकहरू बिहानै होटलका छतमा पुग्ने गरेका छन्।
श्यालामा रहेको शान्ति गेस्ट हाउसको छतबाट देखिने हिमशृङ्खलाको दृश्य पर्यटकका लागि विशेष आकर्षण बन्ने गरेको छ। बिहानैदेखि स्वदेशी तथा विदेशी पर्यटकहरू हिमालमा पर्ने सूर्योदयको पहिलो किरण अवलोकन गर्न उत्साहित देखिन्छन्। कृत्रिम भ्यू टावरको आवश्यकता नपर्ने यस क्षेत्रका होटलका छतबाटै चारैतिर फैलिएका हिमालको ३६० डिग्री दृश्यावलोकन गर्न सकिन्छ।
यहाँबाट मनास्लु (८,१६३ मिटर), नादीचुली अर्थात् पिक २९ (७,८७१ मिटर), हिमालचुली (७,८९३ मिटर), चमार (७,१८७ मिटर), मनास्लु नर्थ (७,१५७ मिटर), पाङ्बोचे, नाइके पिक र सिमनाङलगायतका हिमालको आकर्षक दृश्य देख्न सकिन्छ।
बिहान करिब ६ः३५ बजे नादीचुलीको शिखरमा सूर्यको पहिलो किरण पर्दा हिमाल सुनौलो रङमा चम्किन थालेको दृश्य अत्यन्तै मनमोहक देखिन्छ। त्यसपछि क्रमशः मनास्लु र आसपासका अन्य हिमचुचुराहरू पनि सूर्यको किरणसँगै सुनौलो रङमा परिणत हुन्छन्। हिमालको यही अनुपम दृश्यले पर्यटकलाई लामो समयसम्म मन्त्रमुग्ध बनाउने गरेको छ।
पर्यटनविद् डा. हर्क गुरुङको सम्मानमा नादीचुलीलाई डा. हर्क गुरुङ चुलीका रूपमा समेत सम्बोधन गरिन्छ। हिमालको भव्यतासँगै श्यालाको बस्ती, परम्परागत गुम्बा, धुपीसल्लाको वन, पहाडी थुम्का र स्थानीय भू-दृश्यले यस क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई थप आकर्षक बनाएका छन्।
चेक गणतन्त्रबाट आएका इन्जिनियर पाभेल कोटभल र डा. इभाना कोटभलओभाले पनि श्यालाको हिमाली सौन्दर्यबाट प्रभावित भएको अनुभव सुनाएका छन्। डा. इभानाका अनुसार हिमालको दृश्यले अद्भुत आनन्द प्रदान गर्नुका साथै सहनशीलता र विनम्रताको पाठसमेत सिकाउँछ।
उनले हिमाललाई प्रकृतिको अनुपम उपहारका रूपमा व्याख्या गर्दै तिनको विशालता, शान्त स्वभाव र कठिन परिस्थितिमा पनि अडिग रहने क्षमताबाट मानिसले धेरै कुरा सिक्न सक्ने बताएकी छन्।

चार दिनको पदयात्रापछि पुगिन्छ श्याला
गोरखाको माछाखोलाबाट पदयात्रा सुरु गरेर करिब चार दिनको उकालो–ओरालो यात्रा गरेपछि श्याला पुग्न सकिन्छ। काठमाडौंँबाट सडकमार्ग हुँदै करिब १६५ किलोमिटर दूरीमा रहेको माछाखोला पुग्न सामान्यतया सातदेखि आठ घण्टा लाग्छ।
माछाखोलाबाट पहाडी बाटो, भिरपाखा, पुलपुलेसा र वनजङ्गल पार गर्दै अगाडि बढ्नुपर्छ। पदयात्राका क्रममा आउने कठिनाइका बाबजुद श्याला पुगेपछि देखिने हिमालको भव्य दृश्यले यात्राको थकान बिर्साइदिने पर्यटकहरूको अनुभव छ।
चुम उपत्यकाको पदयात्रासँगै मनास्लु क्षेत्रको भ्रमणमा निस्कने पर्यटकका लागि श्याला महत्वपूर्ण विश्रामस्थल र आकर्षक गन्तव्य पनि हो। यहाँको प्राकृतिक वातावरण, हिमाली संस्कृति र मनोरम दृश्यले विदेशी पर्यटकलाई विशेष रूपमा आकर्षित गर्ने गरेको छ।
श्यालाबाट करिब साढे सात बजे सुरु हुने अर्को पदयात्रामार्फत करिब चार घण्टामा ३ हजार ८३२ मिटर उचाइमा रहेको पुङ्गेन गुम्बा पुग्न सकिन्छ। यस क्षेत्रबाट पनि मनास्लु हिमाल तथा आसपासका हिमाली भू-दृश्यको अवलोकन गर्न सकिन्छ।

प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र साहसिक पदयात्राको अद्वितीय संयोजन रहेको श्याला मनास्लु क्षेत्रको पर्यटन विकासका लागि महत्वपूर्ण सम्भावना बोकेको गन्तव्य हो। हिमालको नजिकबाट अनुभव गर्न, सूर्योदयको सुनौलो दृश्य हेर्न र प्रकृतिसँग केही समय बिताउन चाहने पर्यटकका लागि श्यालाको यात्रा अविस्मरणीय बन्न सक्छ।













