पनौती । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पनौती–४, काभ्रेपलाञ्चोकको ३२औँ वार्षिक साधारण सभा अन्तर्गत सातवटै एकाइ सभा सम्पन्न भएका छन्। संस्थाले कार्तिक २० र २१ गते विभिन्न स्थानमा आयोजना गरेका एकाइ सभामा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको जनाएको छ।

संस्थाका अनुसार कार्तिक २० गते बनेपा, भकुण्डे, कुशादेवी र ढुंखर्क एकाइका सभा सम्पन्न भएका थिए भने कार्तिक २१ गते पनौती, पाँचखाल र काठमाडौं एकाइका सभा सम्पन्न भएका हुन्।
पनौती एकाइको सभा संस्थाका अध्यक्ष मुकुन्द शर्माको सभाध्यक्षतामा, पाँचखाल एकाइको सभा वरिष्ठ उपाध्यक्ष सूर्य मानन्धरको सभाध्यक्षतामा र काठमाडौं एकाइको सभा उपाध्यक्ष भवानी महतको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
एकाइगत रूपमा पनौतीमा ७६.१० प्रतिशत, पाँचखालमा ५९.१० प्रतिशत र काठमाडौंमा ६८.२९ प्रतिशत सदस्यको उपस्थिति रहेको थियो। सातवटै एकाइको सहभागिता समेट्दा कुल शेयर सदस्यको ६६.२४ प्रतिशत उपस्थिति रहेको संस्थाले जनाएको छ।

साधारण सभालाई सदस्यहरूको आर्थिक तथा सामाजिक हितसँग जोड्दै संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्यक्रमसमेत सञ्चालन गरेको थियो। पाँचखाल एकाइमा आयोजित रक्तदान कार्यक्रममा सदस्यहरूले रक्तदान गरी मानवीय सेवामा योगदान पुर्याएका थिए।
त्यसैगरी, कार्तिक २० र २१ गते सञ्चालन गरिएका रक्तदान कार्यक्रममा कुल ५४ जना रक्तदाताले रक्तदान गरेका थिए। साथै, आयोजित निःशुल्क दन्त शिविरबाट ९७ जनाले दन्त परीक्षण सेवा लिएका थिए।
एकाइ सभाहरूमा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति तथा सेवाकेन्द्र व्यवस्थापन उपसमितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। सभामा स्वागत मन्तव्य, विभिन्न प्रतिवेदनहरूको प्रस्तुति तथा संस्थाको वर्तमान अवस्था, उपलब्धि र आगामी कार्यदिशाका विषयमा छलफल गरिएको थियो।

सदस्यहरूको सक्रिय सहभागिता, संस्थाप्रतिको अपनत्व र सामाजिक सेवामूलक कार्यक्रमले एकाइ सभाहरूलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाएको संस्थाले जनाएको छ।
संस्थाले आगामी कार्तिक २८ गते पनौती–४, काभ्रेपलाञ्चोकस्थित मुख्य कार्यालयमा एकाइ सभाबाट सदस्य संख्याका आधारमा छनोट भएका प्रतिनिधिहरूको उपस्थितिमा निर्णय प्रमाणीकरण सभा आयोजना गर्ने भएको छ। उक्त सभामार्फत संस्थाको ३२औँ वार्षिक साधारण सभा औपचारिक रूपमा सम्पन्न गरिनेछ।
















