नर्मदेश्वर सेवा समाजको नवौँ वार्षिक साधारण सभा सम्पन्न, सामाजिक तथा धार्मिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा



काठमाडौँ । ओखलढुङ्गाको लिखु गाउँपालिका–३, नर्मदेश्वरबाट काठमाडौँलगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका स्थानीयवासीलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापित नर्मदेश्वर सेवा समाज ओखलढुङ्गा–काठमाडौँको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष फत्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य तथा ओखलढुङ्गाका यज्ञराज सुनुवार विशेष अतिथिका रूपमा सहभागी भएका थिए। साधारण सभासँगै शुभकामना आदानप्रदान, चियापान तथा सामूहिक देउसी–भैलो कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म हासिल गरेका उपलब्धि, सञ्चालन गरेका सामाजिक तथा धार्मिक गतिविधि, भावी योजना र चुनौतीबारे जानकारी गराएका थिए।

वि.सं. २०७४ साल माघ २९ गते स्थापना भएको यस संस्थाले नर्मदेश्वरका बासिन्दाबीच आपसी एकता, सहयोग र सद्भाव कायम गर्दै सामाजिक सेवाका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ। विशेषगरी काठमाडौँमा बसोबास गर्ने गाउँवासीलाई संगठित गर्ने तथा आपत्–विपत्, स्वास्थ्य उपचार, शिक्षा र धार्मिक–सांस्कृतिक गतिविधिमा सहयोग पुर्‍याउने उद्देश्यले संस्था क्रियाशील रहँदै आएको छ।

संस्थाले धार्मिक तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा नर्मदेश्वर महादेव मन्दिर परिसरमा राधाकृष्ण मन्दिर निर्माण, १०८ शिवलिङ्ग परिक्रमा स्थल निर्माण तथा नन्दी र शिवजीका प्रतिमा स्थापना गर्ने कार्य सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन र ‘नर्मदेश्वर’ स्मारिका प्रकाशनमार्फत गाउँको इतिहास, धार्मिक महत्त्व र पहिचानलाई संरक्षण गर्ने प्रयास गरिएको छ।

त्यसैगरी, काठमाडौँमा उपचार, अध्ययन तथा अन्य कामका लागि आउने नर्मदेश्वरवासीलाई सहज आवास तथा सहयोग उपलब्ध गराउने उद्देश्यले सामुदायिक भवन निर्माणका लागि जग्गा प्राप्तिको अभियानसमेत अघि बढाइएको संस्थाले जनाएको छ।

संस्थाको आर्थिक तथा प्रशासनिक पक्षलाई सुदृढ बनाउने क्रममा एनआईसी एसिया बैंकको गौशाला शाखामा तीन लाख रुपैयाँको स्थायी कोष स्थापना गरी मौज्दात राखिएको छ। साथै, विगत तीन वर्षदेखि नवीकरण हुन नसकेको संस्थाको कानुनी तथा प्रशासनिक नवीकरण प्रक्रिया पनि पूरा गरिएको प्रतिवेदनमा उल्लेख छ।

सामाजिक सेवाअन्तर्गत संस्थाले स्थापना कालदेखि नै मृतकका परिवारलाई मृत्यु संस्कार सहयोग रकम उपलब्ध गराउँदै आएको छ। दुःखद घटनामा समवेदना पत्र प्रदान गर्नुका साथै महामारी तथा दैवी विपत्तिका समयमा औषधि र अक्सिजनलगायतका सहयोगसमेत गर्दै आएको छ।
यस अवधिमा संस्थामा तीन जना नयाँ साधारण सदस्य र पाँच जना आजीवन सदस्य थपिएका छन्। यसले संस्थाप्रति गाउँवासीको आकर्षण र सहभागिता बढ्दै गएको देखाएको छ।

कार्यक्रममा विशेष अतिथि संविधान सभा सदस्य यज्ञराज सुनुवारले नर्मदेश्वर सेवा समाजले काठमाडौँमा रहेका गाउँवासीलाई एउटै सामाजिक सूत्रमा आबद्ध गर्दै जन्मभूमिको विकास, सामाजिक एकता र सेवामूलक गतिविधिमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। उनले सामाजिक संस्थाहरूले आफ्नो जन्मभूमिको विकास, संस्कृति संरक्षण र आपसी सहयोगलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी अन्य अतिथिहरूले पनि संस्थाले हालसम्म सञ्चालन गरेका सामाजिक, धार्मिक तथा परोपकारी गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना व्यक्त गरेका थिए।

साधारण सभाको औपचारिक सत्र सम्पन्न भएपछि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको थियो। त्यसपछि सामूहिक देउसी–भैलो कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी नर्मदेश्वरवासीहरूले हर्षोल्लासका साथ देउसी–भैलोमा सहभागिता जनाउँदै आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई थप प्रगाढ बनाएका थिए।

साधारण सभा, शुभकामना आदानप्रदान, चियापान तथा सामूहिक देउसी–भैलो कार्यक्रमले नर्मदेश्वरवासीबीचको आत्मीयता, एकता र जन्मभूमिप्रतिको सम्बन्धलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार