सर्वोच्चबाट निस्सा मात्र होइन, रुख पनि हामीले नै पाउँछौं:- देउवा



नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता आफूहरूले नै पाउने दाबी दोहोर्‍याएका छन् । शनिबार नेपाली कांग्रेस (चुनदेवी)को काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतबाट निस्सा मात्र होइन रुख (पार्टीको आधिकारिकता) पनि आफूहरूले नै पाउने दाबी गरेका हुन् ।

सर्वोच्चले आधिकारिकता विवादमा सुनुवाइका लागि निस्सा दिएपछि आफू विदेशबाट फर्केको उनको भनाइ छ । उनले आफूले विशेष महाधिवेशन ‘हुँदैन’ भनेको समेत बताए । आफू सभापति बहाल रहेकै बेला आफ्नो सहमतिबिना विशेष महाधिवेशन गरिएको देउवाको टिप्पणी छ ।

‘त्यसैकारण हामीले अदालतमा मुद्दा हालेका हौं । निस्सा दिएपछि सबैले आउनुपर्‍यो भने म आएँ । मलाई विश्वास छ; निस्सा मात्र होइन पूरै रुख चिह्न नै हामीले पाउँछौं’, देउवाले भने ।

उनले विदेशबाट आउँदा आफू राति आउन चाहे पनि नेता कार्यकर्ताको अनुरोधमा दिउँसो आइपुगेको जनाए । त्यसक्रममा आफूले भव्य स्वागत भएको देउवाको भनाइ छ ।

अर्को प्रसङ्गमा देउवाले गगन थापाले पैसा तिरेर पार्टी किनेको गम्भीर आरोप समेत लगाए । आफू विदेशमा भएको बेला थापाले विशेष महाधिवेशन गरेको र निर्वाचन आयोगलाई पैसा खुवाएर पार्टी किनेको देउवाले गम्भीर आरोप लगाए ।

‘पैसा दिएर पार्टी किन्दियो । अब पैसामा पार्टी बेच्ने हाम्ले ?’, देउवाले भने । उनले आफूले विशेष महाधिवेशन ‘हुँदैन’ भनेको समेत बताए । आफू सभापति बहाल रहेकै बेला आफ्नो सहमतिबिना विशेष महाधिवेशन गरिएको देउवाको टिप्पणी छ ।

‘मैले गगनजीलाई के भनेको थिएँ भने तपाईंको उमेर छ, नियमित महाधिवेशन गरौं । नेताहरूसँग सल्लाह गर्नुस् । पूर्णबहादुर कार्यवाहक हुनुहुन्छ उहाँसँग सल्लाह गर्नुस् । तर, म विदेश भएको बेला उहाँले महाधिवेशन गरिसक्नुभयो’, देउवाले भने ।

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार