पार्वतीको श्रापपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धार्मिक अन्धभक्ति र ‘नक्कली भगवान’प्रति व्यङ्ग्य गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले पार्वतीको श्रापपछि देवताका सन्तान जन्मिन रोकिएको र त्यसपछि नक्कली भगवानहरू जन्मिएको टिप्पणी गरे।

‘…२२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दाखेरि चाहिँ अनि भगवानहरू छ्यापछ्याप्ती जन्मिँदा जन्मिँदा ३३ कोटी जन्मिए, धन्न पार्वतीले श्राप दिइछन् र त्यसपछि देवता जन्मिन पाएनन् । पार्वतीले ‘अब उप्रान्त निसन्तान हुनु’ भनेर भन्ने श्राप दिइन् । अब कुनै देवताको पनि तिमीहरूको सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू,’ ओलीले थप व्याख्या गर्दे अघि भनेका छन्, ‘अब देवता, बढी देवता जन्मिँदैनन् । तर पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ । हामी आफैंले पनि अब यसो दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ ।’

ओलीले योगलाई ईश्वरसँग जोडेर भ्रम फैलाइएको दाबी गर्दै अष्टाङ्ग योगका यम–नियमले हिंसा नगर्न, सत्य बोल्न, शान्तिको बाटो हिँड्न र अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने बताए। उनका अनुसार योगले स्वस्थ शरीर र मस्तिष्कको विकासमा सहयोग गर्छ, तर पतञ्जलिको योग ईश्वरवादसँग मिसिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते मङ्गलवार