वेस्ट इन्डिजका फाबियन एलन सुदूरपश्चिम रोयल्समा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका निम्ति सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलनलाई अनुबन्ध गरेको छ । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् ।

उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलनले वेस्ट इन्डिज, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशकाटी–२० लिगमा खेलेका छन् । एलनले ४२ टी–२० अन्तर्राष्ट्रियमा २९८ रन बनाउनुका साथै २४ विकेट लिएका छन् ।

सम्रग टी–२० क्रिकेटमा एलनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन् । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङ थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

“फाबियन एलन अनुभवी टी–२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,” खड्काले भने ।

एलनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए । “सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु । नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु । समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,” एलनले भने ।

प्रकाशित मिति : २०८३ कार्तिक ९ गते आइतवार