काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको तरिकामा असाधारण र ठुलो परिवर्तन भएको बताएका छन् । पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिकीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले डेमोक्रेसीका जनक हौ भन्नेहरू रक्षक हौ भन्नेहरूले नै अन डेमोक्रेटिक तरिकाबाट चल्न थालेको बताएका हुन् ।
‘ग्लोबल पोल्टिक्समा हेर्नुपर्ने कुरा के हो भने इन्टरफेयरेन्स फरक गहिराइको छ । राष्ट्रहरूमाथिको एक्सप्लाइटेसन, इन्टरफेयरेन्स फरक लेबलको छ’, उनले भने, ‘सरकार उल्टाउने, फाल्ने र जडान गर्ने पहिलाजस्तो डेमोक्रेसीका जनक हौ भन्नेहरू र रक्षक हौ भन्नेहरूले नै अनडेमोक्रेटिक तरिकाबाट षडयन्त्रमूलक ढङ्गले अलोकतान्त्रिक, असामाजिक तरिकाले सत्ता परिवर्तन गराउँछन् र आफ्ना पपेट गभर्मेन्टहरु स्थापना गर्छन् जसको रिसर्च हुनुपर्छ ।’
पूर्वप्रधानमन्त्री ओलीले यसको सिकार नेपाल मात्र नभए अन्य देश पनि भइरहेको बताए । ‘हामी कम्प्रिहेन्सी डेमोक्रेसी भनिरहेका छौ । यहाँ त डेमोक्रेसी नै कता पुग्यो, के को कम्प्रिहेन्सी डेमोक्रेसी ?’, प्रश्न गर्दै उनले भने, अन डेमोक्रेटिक ढङ्गले हुत्त्याउने । अति पलपुर मान्छेलाई रातारात अनपपुलर बनाइदिन्छन् ।’ ओलीले रास्वपा सांसद खगेन्द्र सुनारको भनिएको अडियोको प्रसङ्ग निकाल्दै यो ट्रेन बहुत खतरनाक रहेको बताए ।
‘रातारात हिरो बनाइदिन्छ । खोतल्ने हो भने यहाँ कति हिरो छन् । यो ट्रेन बहुत खतरनाक छ । यस्तो अरू देशमा पनि भइरहेको छ’, उनले भने, ‘यसैका कारण विश्व व्यवस्था नै ध्वस्त भयो । ध्वस्त हुँदा सबभन्दा बढी हामीजस्ता देशलाई मार पर्छ ।’














