नेपाल विद्यावारिधि संघको १८औँ साधारणसभा सम्पन्न, अनुसन्धान र नीतिनिर्माणमा योगदान दिने प्रतिबद्धता



काठमाडौं । नेपाल विद्यावारिधि संघको १८औँ वार्षिक साधारणसभा तथा स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशा, अनुसन्धान, शैक्षिक विकास तथा नीतिगत बहसलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

संघका संस्थापक अध्यक्ष डा. राजेन्द्र के.सी.ले ‘The Power of Mindset’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए। त्यसैगरी संघका आजीवन सदस्य डा. दीपकप्रसाद बास्तोलाले नेपालको सन्दर्भमा उत्पादकत्वका लागि राजनीतिक नेतृत्व र तिनका राजनीतिक सक्षमताहरू विषयमा प्रस्तुति दिएका थिए।

कार्यक्रममा महासचिव डा. अलक बाबु उपाध्यायले संघको १८औँ वार्षिक साधारणसभामा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा संघको स्थापना, संस्थागत विकास, सदस्यहरूको सहभागिता, अनुसन्धान तथा शैक्षिक गतिविधि र आगामी योजनाबारे उल्लेख गरिएको थियो।

संघले स्वदेश तथा विदेशमा रहेका विभिन्न विधाका विद्यावारिधि उपाधि प्राप्त व्यक्तिहरूबीच सम्बन्ध विस्तार गर्दै स्वतन्त्र थिंक ट्यांकका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्य अघि सारेको छ। साथै समसामयिक राष्ट्रिय मुद्दामा प्राज्ञिक समुदाय, बौद्धिक वर्ग तथा विभिन्न सरोकारवालाबीच छलफल र बहस सञ्चालन गरी नीतिनिर्माण प्रक्रियामा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

आगामी कार्यदिशाअन्तर्गत अनुसन्धान पद्धति, प्रस्ताव लेखन, समष्टिगत आर्थिक विश्लेषण, पीएचडी अनुसन्धान सहयोग तथा अनुसन्धानमूलक प्रकाशनलाई प्राथमिकता दिने योजना संघले अघि सारेको छ। युवा पुस्तालाई अनुसन्धानमा आकर्षित गर्ने र विदेशमा रहेका नेपाली विद्यावारिधि उपाधिधारीहरूसँगको सम्बन्ध विस्तार गर्ने विषयलाई समेत महत्त्व दिइएको छ।

साधारणसभाले संघका विभिन्न उपसमितिहरूलाई थप सक्रिय बनाउने उद्देश्यले आर्थिक, कानुन तथा सदस्य व्यवस्थापन उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति र अनुसन्धान तथा विकास एवं प्रकाशन उपसमिति गठन गरेको प्रतिवेदनमा उल्लेख छ।

संघले आगामी दिनमा प्राज्ञिक ज्ञान, अनुसन्धान र बौद्धिक क्षमतालाई सामाजिक तथा आर्थिक विकाससँग जोड्दै राष्ट्रिय नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार