काठमाडौं । कपनगढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार, २०८३ मंसिर ५ गते कपनस्थित कपन दरबार ब्याङ्क्वेटमा संस्थाका अध्यक्ष दिलिप खत्रीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा संस्थाको आर्थिक तथा वित्तीय अवस्था, वार्षिक प्रगति, आगामी आर्थिक वर्षको बजेट, लेखापरीक्षण प्रतिवेदन तथा सहकारीको भावी योजनालगायतका विषयमा छलफल गरिएको थियो।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षको स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो। त्यसैगरी, सञ्चालक समितिका तर्फबाट सचिवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको थियो।
साधारण सभामा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेटसहित कोषाध्यक्षको आर्थिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो। ती प्रतिवेदनहरू सभाबाट पारित गरिएको छ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रस्ताव र विविध विषयमा समेत छलफल गरी आवश्यक निर्णय गरिएको थियो।
२२ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कुल सम्पत्ति
संस्थाले सभामा प्रस्तुत गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म संस्थाको कुल सम्पत्ति तथा दायित्व २२ करोड ८९ लाख ८२ हजार रुपैयाँ पुगेको छ। यस अवधिमा संस्थाको शेयर पुँजी २ करोड ४८ लाख ४५ हजार ५०० रुपैयाँ रहेको छ भने सदस्यहरूबाट संकलित बचत १७ करोड ७३ लाख ४१ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै, संस्थाले १७ करोड ९४ लाख ७६ हजार रुपैयाँ ऋण लगानी गरेको छ। नगद तथा बैंक मौज्दात ३ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ भने जगेडा तथा अन्य कोषमा १ करोड ६७ लाख १२ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
आर्थिक वर्ष २०८२/८३ मा संस्थाले २ करोड ५९ लाख ५० हजार रुपैयाँ कुल आम्दानी गरेको छ। सोही अवधिमा कुल खर्च २ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेको छ। यसअनुसार आयकर तथा अन्य व्यवस्था गर्नुअघिको खुद बचत ५५ लाख १ हजार रुपैयाँ रहेको छ।
सदस्यहरूको बचत सुरक्षालाई प्राथमिकतामा राख्दै संस्थाले औसत २२.०६ प्रतिशत तरलता कायम गरेको जनाएको छ। भाखा नाघेका तथा जोखिममा रहेका ऋणको सुरक्षणका लागि मापदण्डअनुसार करिब ३० लाख ९१ हजार रुपैयाँ ऋण सुरक्षण कोषमा व्यवस्था गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। संस्थाले सदस्यहरूबाट संकलित बचतलाई उत्पादनशील तथा आयआर्जनमूलक क्षेत्रमा परिचालन गर्दै आएको जनाएको छ।
२५ जना प्रवर्द्धक सदस्यबाट सुरु भएको सहकारीमा १ हजार ४३० सदस्य
कपनगढी बचत तथा ऋण सहकारी संस्था २०६८ सालमा २५ जना प्रवर्द्धक सदस्यबाट स्थापना भएको हो। सुरुवाती चरणमा प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले कुल ६ लाख २५ हजार रुपैयाँ शेयर पुँजी संकलन गरी संस्थाको स्थापना गरिएको थियो।
२०६८ फागुन १ गते बसेको प्रारम्भिक भेलाले संस्था स्थापना गर्ने निर्णय गरेको थियो। त्यसपछि विनियम सर्वसम्मत पारित गरी २०६८ चैत १ गते सहकारी विभागअन्तर्गत डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भई संस्थाले औपचारिक रूपमा कारोबार सुरु गरेको थियो।
सुरुवाती समयमा कपन गाविसलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासलाई मुख्य उद्देश्य बनाउँदै आएको छ। २०८३ असार मसान्तसम्म संस्थामा ७५३ पुरुष, ६६२ महिला र १४ अन्य गरी कुल १ हजार ४३० जना शेयर सदस्य आबद्ध रहेका छन्।

संस्थाले अन्तर्राष्ट्रिय सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै सदस्यहरूमा छरिएर रहेको पुँजी तथा स्रोतसाधनलाई एकीकृत गरी सामूहिक आर्थिक विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ।
साधारण सभाको समापनमा अध्यक्ष दिलिप खत्रीले सभामा उठेका विषय, सदस्यहरूको सुझाव तथा संस्थाको आगामी कार्यदिशाबारे आफ्नो धारणा राखेका थिए। उनले सदस्यहरूको विश्वास, सहकार्य र सहभागितालाई संस्थाको प्रगतिको आधारका रूपमा उल्लेख गर्दै आगामी दिनमा संस्थाको वित्तीय अवस्था थप सुदृढ बनाउने, सदस्यहरूको बचत सुरक्षित राख्ने तथा सदस्यकेन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।











