बोराभित्र एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जना नख्खुबाट पक्राउ



बोराभित्र एक करोड ६७ लाख राखेर लैजाँदै गरेका तीन जनालाई प्रहरीले ललितपुरको नख्खुबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको उक्त रकमसहित तीन जनालाई पक्राउ गरेको हो।

मंगलबार बिहान सवा १० बजेतिर पशुपतिनाथ पराग सप्लायर्सको कम्पनीमा काम गर्ने तीन जना बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा जाँदै थिए। ललितपुर महानगरपालिका-२ नख्खु चोकतर्फ गइरहेका तीन जनाले रकम बोकेको विशेष सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा खटिएको टोलीले रकमसहित पक्राउ गरेको एसएसपी सन्तोष खड्काले जानकारी दिए। पक्राउ पर्नेमा भोजपुर घर भई कोटेश्वर बस्ने कम्पनीका मार्केटिङ हेर्ने ३० वर्षीय दीपक खड्का छन्। भ्यानका चालक गोदावरी बस्ने ३२ वर्षीय जयराम केसी र बानेश्वर बस्ने लोडरको काम गर्ने २९ वर्षीय प्रज्वल रिजाल पक्राउ परेका छन्। ‍

उनीहरूले कुन प्रयोजनका लागि उक्त रकम कहाँ लग्दै थिए भन्ने खुलिसकेको छैन। उनीहरूबाट कुल एक करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद भएको हो। एक हजारको नोट मात्रै एक करोड ९ लाख ८७ हजार बरामद भएको थियो। बाँकी ५००, १००, ५०, २०, १० र ५ रुपैयाँका नोट छन्।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार