कोष व्यवस्थापन कम्पनीको दशौँ साधारण सभा सम्पन्न, १०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव



काठमाडौं । कोष व्यवस्थापन कम्पनी लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कृषि विकास बैंक लिमिटेड, बैंकका कर्मचारी तथा सर्वसाधारण सेयरधनीहरूको सहभागितामा स्थापना भएको कम्पनीको सभा गत कात्तिक ३० गते काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा सम्पन्न भएको हो।

कम्पनीका अध्यक्ष सुशिल हुमागाईंको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको आर्थिक तथा व्यावसायिक अवस्थाको समीक्षा गर्दै आगामी कार्ययोजना र रणनीतिबारे छलफल गरिएको थियो।
सभामा प्रस्तुत अध्यक्षको वार्षिक प्रतिवेदनअनुसार विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक चुनौतीका बाबजुद कम्पनीले सन्तोषजनक वित्तीय प्रगति हासिल गरेको छ।

३४ लाख ५ हजार रुपैयाँ खुद मुनाफा

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ३४ लाख ५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ। नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार तयार गरिएको वित्तीय विवरणअनुसार कम्पनीको चुक्ता पुँजी ३ करोड १० लाख ४८ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको सञ्चित मुनाफा ४ करोड २७ लाख रुपैयाँ पुगेको छ। जसमध्ये वितरणयोग्य सञ्चित मुनाफा ४ करोड ११ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १३२ रुपैयाँ कायम भएको छ।

१०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा प्रस्तुत गरेको छ।
प्रस्तावअनुसार ३ करोड १० लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजीको १०.५० प्रतिशतका दरले हुन आउने ३२ लाख ६० हजार ४० रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। उक्त लाभांशमा करसमेत समावेश रहेको छ।

३० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने लक्ष्य

कम्पनीले आफ्नो पुँजीगत क्षमता विस्तार गर्ने उद्देश्यले चुक्ता पुँजी ३० करोड रुपैयाँ पुर्‍याउने योजना अघि बढाएको छ।
यसका लागि मुख्य संस्थापक कृषि विकास बैंक लिमिटेडबाट २२ करोड ५९ लाख ५७ हजार रुपैयाँ प्राप्त गर्ने तथा पुराना सेयरधनी र हाल कार्यरत कर्मचारीको सहभागितामा थप पुँजी वृद्धि गर्ने योजना रहेको छ। प्रस्तावित पुँजी संरचनाअनुसार कृषि विकास बैंक लिमिटेडको हिस्सा २५ करोड ५० लाख रुपैयाँ र कर्मचारीहरूको हिस्सा ४ करोड ५० लाख रुपैयाँ रहनेछ।

लगानी विविधीकरण र प्रविधिमा जोड

कम्पनीले आगामी दिनमा आफ्नो लगानीको दायरा विस्तार गर्दै अल्पकालीन प्रकृतिका सेयर, ऋणपत्र, सामूहिक लगानी कोष तथा प्राथमिक सेयरमा लगानी बढाउने रणनीति लिएको छ।
त्यस्तै, चितवनस्थित जग्गाको स्थायी सीमांकन गरी भाडामा लगाउने व्यवस्था मिलाउने, जोखिम न्यूनीकरणका लागि केही कम्पनीको सेयर बिक्री गरी विभिन्न क्षेत्रका कम्पनीमा लगानी विविधीकरण गर्ने योजना पनि अघि सारेको छ।
कम्पनीले सेयर खरिद–बिक्री तथा लेखा प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधि तथा आधुनिक सफ्टवेयर प्रणालीको प्रयोगलाई प्राथमिकता दिने जनाएको छ।

आर्थिक अवस्थाको समीक्षा

सभामा प्रस्तुत प्रतिवेदनमा नेपालको समग्र आर्थिक अवस्थाबारे पनि चर्चा गरिएको थियो। विश्व अर्थतन्त्रको सुस्त गति तथा मध्यपूर्वमा जारी द्वन्द्वको प्रभाव नेपालको अर्थतन्त्रमा समेत परेको उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा नेपालको शोधनान्तर स्थिति ६ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले वृद्धि भई ३७ खर्ब ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। उक्त सञ्चितिले करिब १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै, आर्थिक वर्षको अन्त्यमा नेप्से परिसूचक २ हजार ५७९.८० विन्दुमा कायम रहँदा कुल बजार पुँजीकरण ४४ खर्ब ६३ अर्ब रुपैयाँ रहेको जनाइएको छ।

सभाको अन्त्यमा अध्यक्ष सुशिल हुमागाईंले कम्पनीको प्रगतिमा सहयोग पुर्‍याउने कृषि विकास बैंक लिमिटेड, कम्पनी रजिस्ट्रारको कार्यालय, महालेखापरीक्षकको कार्यालय, लेखापरीक्षक, सेयरधनी तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेका थिए।

प्रकाशित मिति : २०८३ मङ्सिर १ गते सोमवार