काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) को ३०औँ स्थापना दिवस विशेष समारोहका साथ सम्पन्न भएको छ। काठमाडौँको ताहाचलस्थित केन्द्रको कार्यालय परिसरमा बुधबार आयोजित समारोहमा नवीकरणीय ऊर्जालाई राष्ट्रिय अर्थतन्त्र, उत्पादन, उद्यमशीलता तथा रोजगारीसँग जोड्दै ऊर्जा सुरक्षालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवीकरणीय ऊर्जाको विकासलाई अनुदान र पहुँच विस्तारमा मात्र सीमित नराखी निजी लगानी, स्थानीय उद्यमशीलता, ऊर्जा दक्षता तथा आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जाको प्रवर्द्धनमार्फत मुलुकको ऊर्जा सुरक्षालाई मजबुत बनाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउनुपर्ने बताउनुभयो। उहाँले वैकल्पिक ऊर्जालाई उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
मन्त्री श्रेष्ठले ‘एलपी ग्यासमुक्त पालिका’ अवधारणालाई कार्यान्वयनमा ल्याउन आवश्यक तयारी थाल्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई निर्देशनसमेत दिनुभयो। यस अवधारणाले स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्नुका साथै आयातित इन्धनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तीन दशकदेखि नवीकरणीय ऊर्जा प्रवर्द्धनमा योगदान
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले स्थापना भएको तीन दशकदेखि नेपालमा नवीकरणीय ऊर्जाको प्रवर्द्धन, ऊर्जा पहुँच विस्तार, ऊर्जा आत्मनिर्भरता तथा हरित अर्थतन्त्र निर्माणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
स्थापना दिवसका अवसरमा केन्द्रले हालसम्म हासिल गरेका उपलब्धि, वैकल्पिक ऊर्जाको वर्तमान अवस्था तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गरेको थियो।
कार्यक्रममा नवीकरणीय ऊर्जाको विकासलाई दिगो आर्थिक विकाससँग जोड्दै निजी क्षेत्रको लगानी आकर्षित गर्ने, स्थानीयस्तरमा उद्यमशीलता प्रवर्द्धन गर्ने तथा स्वच्छ ऊर्जाको प्रयोग विस्तार गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।
तीन दशकदेखि वैकल्पिक तथा नवीकरणीय ऊर्जाको विकासमा योगदान पुर्याउँदै आएको केन्द्रको आगामी यात्रा थप प्रभावकारी र उपलब्धिमूलक बन्ने अपेक्षासहित स्थापना दिवसका अवसरमा केन्द्रका सम्पूर्ण परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

















