कान्ति लोकपथको टिकाभैरव सडकखण्ड सोमबारदेखि सञ्चालनमा आउने



ललितपुर । पहिरोका कारण एक महिनादेखि अवरुद्ध कान्ति लोकपथअन्तर्गत ललितपुरको टिकाभैरव सडकखण्ड आउँदो सोमबारदेखि सञ्चालनमा आउने भएको छ।

ललितपुर क्षेत्र नम्बर १ का सांसद बुद्धरत्न महर्जन, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे र पूर्वाधार कार्यालयका कर्मचारीसहितको टोलीले आज सडकको स्थलगत निरीक्षण गर्दै सडक सञ्चालनको तयारी अघि बढाउन निर्देशन दिएको हो।

निर्णयअनुसार आजैदेखि सडकको ट्र्याक खोल्ने काम सुरु गरिनेछ। आगामी तीन दिनसम्म वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको आकलन गरी सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइनेछ।

एक महिनादेखि सडक अवरुद्ध हुँदा आवागमनमा समस्या भोग्दै आएका यात्रु तथा स्थानीयवासीलाई सडक सञ्चालनमा आएपछि राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार