काठमाडौँ । सामाजिक सञ्जालमा आलोचना खेपिरहेकी रास्वपा सांसद आशिका तामाङले सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूले चर्चा कमाउन वा कुनै व्यक्तिगत लाभका लागि स्टन्ट गरेको भनाइ आवाजविहीनको आवाज बन्न खोजेको उनको भनाइ छ ।
दशैंका बेला आशिकाले गाडीको छतमा राखिएको खसीलाई ओराल्न लगाएको भिडिओ भाइरल भएको थियो । छतमा डोरीले बाँधेर यातनापूर्वक खसी ढुवानी गर्दै गरेको देखेपछि उनले हस्तक्षेप गरेकी थिइन् । तर उक्त भिडिओ सार्वजनिक भएपछि धेरैले आशिकालाई नै आरोपित गरे । भिडिओ बनाएर डलर कमाउनका लागि स्टन्ट गरेको आरोप लाग्यो ।
आज एक भिडिओ सन्देश जारी गर्दै आशिकाले आफूमाथि लागेका आरोपको सफाइ दिएकी हुन् । उनले आफ्नो फेसबुकको मोनिटाइजेसन धेरै पहिलेदेखि बन्द रहेको समेत बताएकी छन् । आफूले कुनै लाभका लागि नभई सधैँ अन्याय र बेथितिविरुद्ध आवाज उठाउँदै आएको उनको भनाइ छ ।
आशिकाले भनिन्, ‘तपाईँहरू मासु खानुस्, तर मापदण्डमा बसेर खानुस् । जाडोमा छतमा हालेर वा डिकीभित्र कोचेर यातना नदिनुस् ।’
कुनै पनि ठाउँमा नराम्रो भइरहेको देखेपछि आफू चुप लागेर बस्न नसक्ने उनी बताउँछिन् । आफूले कसैको धर्म-संस्कारमाथि हस्तक्षेप गर्न नखोजेको बरु पशुमाथि हुने क्रूरता रोक्न आवाज उठाएको उनले स्पष्ट पारिन् ।
आशिकाले आफू कानुन निर्माण गर्ने ठाउँमा रहेको उल्लेख गर्दै ‘पशु कल्याण ऐन, २०७९’ लाई अगाडि बढाउन सक्रिय रहेको बताइन् । पशु ढुवानी गर्दा क्रूर र निर्दयी व्यवहार गर्नेहरूलाई कानुनी दायरामा ल्याएर कडा जरिवाना (पेनाल्टी) को व्यवस्था गर्नुपर्ने उनको माग छ । यसका साथै बलि प्रथालाई पनि क्रमशः निरुत्साहित गर्दै पशु ढुवानी र खरिद प्रक्रियालाई वैज्ञानिक बनाउनुपर्नेमा उनले जोड दिइन् ।
आफ्नो कार्यशैली र बोलीलाई लिएर भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै उनले गलत काम देख्दा आफूलाई आक्रोश आउने गरेको स्वीकारिन् ।
‘गलत भइरहेको देख्दा म एग्रेसन (आक्रोश) मा आउँछु, मेरो बोली छुचो सुनिन्छ होला । म धेरै ध्यान (मेडिटेसन) पनि गर्छु तर रिस नियन्त्रण गर्न सकिरहेकी छैन,’ उनले रुँदै भनिन्, ‘आफूभित्रको यो कमजोरी सुधार्ने प्रयास म गरिरहेकी छु ।’
















