काठमाडौं । बंगालको खाडीमा विकसित मौसमी प्रणालीले यस साताको अन्त्यमा नेपालका धेरै भूभागमा वर्षा र हिमपात हुने पूर्वानुमान छ । विशेष गरी बिहीबारदेखि शनिबार (कात्तिक १२–१५)सम्म यसको प्रभाव बढी पर्ने नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।
बिहीबार दिउँसोदेखि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली जिल्लाका केही ठाउँ र पहाडी भूभागमा पनि पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् रोजन लामिछानेले बताए । “यसको प्रभावचाहिँ शुक्रबार र शनिबार अझै बढ्दै जाने देखिन्छ,” उनले भने ।
आउँदो बुधबार (कात्तिक ११)सम्म खासै वर्षाको सम्भावना छैन । “बुधबार बादल लाग्ने, कतैकतै छिटपुट वर्षा अथवा हिमपात हिमाली जिल्लाहरूमा भए पनि बिहीबारदेखिचाहिँ पानी पर्न सक्ने सम्भावना देखिन्छ,” उनले भने ।
विशेष गरी बिहीबार राति र शुक्रबार (कात्तिक १३) यसको प्रभाव बढी देखिन सक्ने उनले बताए । तर, वर्षा/हिमपातको सम्भावना शनिबारसम्मै रहेको उनले उल्लेख गरे । शनिबार भने पश्चिम नेपालको तुलनामा पूर्वमा बढी प्रभाव पर्न सक्ने उनले स्पष्ट पारे ।
अबका पाँच दिनका निम्ति यस्तो छ मौसम पूर्वानुमान
“शनिबार दिउँसोसम्मलाई पूर्वी क्षेत्रहरूमा बढी प्रभावित हुने र पश्चिमी क्षेत्रहरूमा पनि केही ठाउँहरूमा वर्षा र हिमपातको सम्भावना रहे पनि पूर्वी जुन कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पनि पूर्वी भूभागको तुलनामा जुन पश्चिमी कर्णाली र सुदूरपश्चिम प्रदेशको क्षेत्रहरू, त्यसैगरी लुम्बिनी प्रदेशको पनि पश्चिमी क्षेत्रहरूमा चाहिँ त्यति धेरै वर्षा र हिमपातको सम्भावना देखिँदैन,” उनले भने ।
पछिल्लो २४ घण्टामा कतै पनि वर्षा वा हिमपात भएको देखिँदैन । यो अवधिमा मौसम सामान्यतया राम्रो नै देखिएको उनले बताए । अबका तीन (कात्तिक १०)सम्म पनि मौसममा त्यति धेरै फेरबदल नहुने र पानी खासै नपर्ने उनको भनाइ छ । “कतैकतै छिटपुटदेखि हल्का पानी कोसी र गण्डकी प्रदेशको थोरै ठाउँहरूमा हुन सक्ने सम्भावना देखिन्छ विशेष हिमाली जिल्लाहरूमा भने अन्य भूभागहरूमा पानी पर्ने सम्भावना छैन,” उनले भने ।
तर, बिहानीपख खोँच, उपत्यका र तराई क्षेत्रमा हुस्सु/कुहिरो लाग्न सक्ने उनले बताए ।
हाल बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनिरहेको छ । त्यो बिस्तारै बलियो बन्दै चक्रवातमा परिणत हुने सम्भावना छ । त्यसैको प्रभावले नेपालमा पनि पानी पर्ने सम्भावना औँल्याइएको हो ।
पदयात्रामा ध्यान दिन सुझाव
यो अवधिमा पर्वतारोहण र हिमाली जिल्लाको पदयात्रामा पनि विशेष ध्यान दिन मौसमविद्ले आग्रह गरेका छन् । विशेष गरी बिहीबारदेखि शनिबारसम्म पदयात्रा नगर्न मौसमविद्को सुझाव छ ।
“आगामी बिहीबार, शुक्रबार, शनिबारको समयमा पानी पर्न सक्ने, हिमपात हुन सक्ने सम्भावना विशेष गरी हिमाली जिल्लाहरूमा बढी रहेको हुनाले पैदलयात्री अथवा पर्यटकहरूले सावधानी अपनाउनुपर्ने देखिन्छ,” मौसमविद् लामिछानेले भने ।
पदयात्रामा गइसकेको अवस्थामा सुरक्षित स्थानमा आएर बस्न पनि उनले आग्रह गरे । “यदि, (पदयात्राको) योजना बनाउँदै हुनुहुन्छ भने त्यो समयमा बुझेर मात्रै, मौसमसँग सम्बन्धित जानकारी बुझेर मात्र योजना बनाउनुहोला,” उनले भने, “यदि, गइसक्नुभएको छ भने सुरक्षित स्थानमा आएर बस्नुहुन अनुरोध गर्दछु ।”
धानबालीमा के गर्ने ?
अहिले धानबाली भित्र्याउने समय पनि हो । त्यसैले बिहीबारअगावै धानबाली भित्र्याइसक्न वा केही दिनपछि अर्थात् कात्तिक १५ गतेपश्चात् काट्न उनले सुझाव दिए । धान भिज्ने वा डुब्ने ठाउँ भए पानी कटान गरेर सुरक्षित राख्ने उपाय अपनाउन पनि उनले आग्रह गरे ।
“बिहीबार, शुक्रबार र शनिबार पानी पर्न सक्ने सम्भावना बढी रहेकोले जुन धानबाली भित्र्याउँदै हुनुहुन्छ भने त्यो समयभन्दा अगाडि नै भित्र्याउनुहोला,” उनले भने ।
मौसम फेरबदल भइरहने हुनाले अद्यावधिक सूचनाबारे अपडेट भइरहन उनले आग्रह गरे ।















