प्रस्तावित राजदूत सुनारलाई समितिमा प्रश्न : घरमा श्रीमती हुँदाहुँदै कसरी परस्त्रीसँग प्रेममा बस्नुभयो ?



काठमाडौं । साउदीका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारले आफूले महिला हिंसा गरेको आरोपबारे पहिले प्रेममा रहेको र उनी विदेश गएपछि फोनमा भनाभन मात्र भएको बताएका छन् । बुधबार भएको संसदीय सुनुवाइ समितिको बैठकमा भएको छलफलमा उनले यस्तो बताएका हुन् । सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी पहिले प्रेम सम्बन्धमा थियौँ, उहाँ विदेश गएपछि फोनमा सामान्य भनाभन मात्र भएको हो ।’

त्यसक्रममा उनले प्रमाण पेस गर्दै फोनमा भनाभन मात्र भएको भन्दै त्यसलाई महिला हिंसा भन्न नमिल्ने दाबी गरे । ‘मैले महिला हिंसा गरेको छैन, फोनमा भनाभन भएको इस्यु नै मानिन्छ भने सहुँला, तर यहाँ दलितमाथि हिंसा भएको छ । उहाँ रुनुको कारण केही खोसिन्छ भनेर हो, यही छ प्रमाण’, उनले कुनै महिला रुँदैमा आफू राजदूतका लागि अयोग्य नहुने दाबी गरे । छलफलका क्रममा समिति सदस्य वर्षमान पुनले विवाद आएकाले प्रस्तावित राजदूतले नाम फिर्ता लिँदा राम्रो हुने बताए । सांसद पद्मा अर्यालले विषय गम्भीर रहेकाले एकोहोरो कुरा मात्र सुनेको भए प्रस्तावित राजदूतको अनुहार नै हेर्न नसकिने अवस्था रहेको बताइन् ।

उनले राजदूतका लागि उच्च नैतिक चरित्र हुनुपर्ने मापदण्ड आवश्यक रहेको भन्दै पीडितको निवेदनका आधारमा कुनै पनि हिसाबले सुनारलाई राजदूत स्वीकार गर्न नसकिने बताइन् । ‘तपाईँमाथि जे आरोप लाग्यो, त्यो धेरै गम्भीर लाग्यो’, उनले भनिन्, ‘जतिबेला प्रेम सम्बन्धको कुरा छ, तपाईँको पनि श्रीमती छन् । घरमा श्रीमती भएको श्रीमान् परस्त्रीसँग प्रेम सम्बन्ध गर्नु भएको छ, यो नैतिक आचरणविपरीत छ र अनि महिला हिंसा हुँदैन ?’
समिति सदस्य प्रेम दंगालले दुईवटा कारणले सुनारलाई राजदूतका रूपमा सिफारिस गर्न नसकिने बताए ।

प्रकाशित मिति : २०८३ असोज २८ गते बुधवार