ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उच्च तहका नेताहरू पछिल्लो समय ललितपुरका ग्रामीण भेगमा केन्द्रित हुन थालेका छन्। आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको जनाधार विस्तार गर्ने र मतदाता आकर्षित गर्ने रणनीतिका साथ रास्वपाका मन्त्री र सांसदहरू दक्षिण ललितपुरका विभिन्न बस्तीमा पुगेर फर्किएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गणेश) र रास्वपाका प्रवक्ता तथा ललितपुर क्षेत्र नम्बर २ का सांसद जगदीश खरेल लगायतको टोलीले दक्षिण ललितपुरका विकट तथा ग्रामीण बस्तीहरूको भ्रमण गरेको हो। भ्रमणका क्रममा नेताहरूले प्युटार हुँदै चन्दनपुर, नल्लु, भारदेउ लगायतका विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्।
राजनीतिक विश्लेषक तथा स्थानीय पर्यवेक्षकहरूका अनुसार सहरी क्षेत्रमा बलियो उपस्थिति बनाएको रास्वपाले अब ग्रामीण भेगमा आफ्नो संगठन विस्तार गर्न र आगामी स्थानीय निर्वाचनमा भोट तान्न यो सक्रियता देखाएको हो। स्थानीय स्तरमा विकास निर्माण, पर्यटन प्रवर्द्धन र नागरिकका दैनिक समस्या बुझ्ने उद्देश्यले भ्रमण गरिएको बताइए पनि यसलाई पार्टीको चुनावी रणनीतिको एक हिस्साका रूपमा हेरिएको छ।
अन्तरक्रियाका क्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, खानेपानी, कृषि र ग्रामीण पर्यटनको विकासमा ध्यान दिन मन्त्री पौडेल र सांसद खरेलसमक्ष माग राखेका थिए। जवाफमा नेताहरूले स्थानीयका समस्या समाधान गर्न सरकार र संसद्मार्फत पहल गर्ने प्रतिबद्धता जनाएका थिए। दक्षिण ललितपुरको बस्ती-बस्तीमा जनसंवाद कार्यक्रम सम्पन्न गरी मन्त्री पौडेल र सांसद खरेलको टोली राजधानी फर्किएको छ।











