काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ भव्य रूपमा सम्पन्न भएको छ। ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित शनिबार मंसिर ५ गते काठमाडौंमा आयोजित प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावकले सहभागिता जनाएका छन्।
बैंकको २०औँ वार्षिकोत्सव मंसिर ७ गते मनाउने कार्यक्रमअन्तर्गत आयोजित रोड रेसमा खुला र कर्पोरेट गरी दुई विधामा महिला तथा पुरुषका छुट्टाछुट्टै प्रतिस्पर्धा सञ्चालन गरिएको थियो।
खुला १० किलोमिटर दौडमा तीर्थकुमार पुन र राज्य रावल विजयी
खुलातर्फको १० किलोमिटर दौडमा पुरुष विधामा तीर्थकुमार पुनले निर्धारित दूरी ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भए। त्यसैगरी, महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितिन्।
खुलातर्फको दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक र हात्तीगौंडा हुँदै बुढानीलकण्ठ नगरपालिका–३ को कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमै आएर सम्पन्न भएको थियो।
कर्पोरेट दौडमा ईश्वर बुढाथोकी र दिव्या विष्ट प्रथम
कर्पोरेटतर्फको ५ किलोमिटर दौडमा पुरुष विधामा ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरे। महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान प्राप्त गरिन्।
कर्पोरेट दौड पनि बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भई नारायणगोपाल चोक हुँदै बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर पुनः बालुवाटार फर्किएको थियो।
विजेतालाई ५० हजार रुपैयाँसम्म नगद पुरस्कार
प्रतियोगितामा खुलातर्फको १० किलोमिटर दौडमा महिला तथा पुरुष दुवै विधाका प्रथमदेखि पाँचौँ स्थानसम्मका विजेतालाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। विजेताहरूलाई नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको बैंकले जनाएको छ।
त्यसैगरी, कर्पोरेटतर्फको ५ किलोमिटर दौडमा प्रथमदेखि पाँचौँ स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। उनीहरूलाई पनि मेडल तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो।
बैंकका अध्यक्षसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता
कार्यक्रममा बैंकका अध्यक्ष दिलीप प्रताप खाँड, सञ्चालक समितिका सदस्य तथा पूर्वसञ्चालक, शेयरधनी, विभिन्न संघसंस्था तथा निकायका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको मुख्य उद्देश्य खेलकुदप्रति आम नागरिकको आकर्षण बढाउनु, शारीरिक सक्रियतालाई प्रोत्साहन गर्नु तथा स्वस्थ जीवनशैली अपनाउन जनचेतना अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको छ।
वार्षिकोत्सवमा नौ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिने
यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा मंसिर ७ गते सोमबार देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
रक्तदान कार्यक्रमका अतिरिक्त बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिसमेत सञ्चालन गर्ने जनाएको छ।
खेलकुद, स्वास्थ्य र सामाजिक सेवामार्फत आफ्नो वार्षिकोत्सवलाई अर्थपूर्ण बनाउने उद्देश्यसहित बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
















