काठमाडौं । यामाहा नेपालले नयाँ स्कुटर ‘यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड’ नेपाली बजारमा सार्वजनिक गरेको छ। एमएडब्ल्यू राइड्स प्रा.लि. अन्तर्गतको यामाहा नेपालले शुक्रबार काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा एक कार्यक्रम आयोजना गरी स्कुटर सार्वजनिक गरेको हो।
कार्यक्रममा विभिन्न व्यक्तित्वको व्यक्तित्व र शैली झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटर प्रदर्शनीमा राखिएको थियो। प्रत्येक स्कुटरको सजावट र त्यसको वरपरको वातावरणले फरक मनोभाव, रुचि र शैली प्रस्तुत गरेको थियो।
१२५ सीसी इन्जिन र हाइब्रिड प्रविधि
नयाँ फ्यासिनो १२५ एफआई हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सन इन्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर (एसएमजी) प्रविधि जडान गरिएको छ।
यस प्रविधिले इन्जिनलाई शान्त रूपमा सुरु गर्न सहयोग गर्नुका साथै स्कुटर स्थिर अवस्थाबाट अघि बढ्दा अतिरिक्त शक्ति प्रदान गर्छ। यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ।
स्कुटरको तौल ९८ किलोग्राम रहेको छ। हलुका बनावट, आरामदायी सिट तथा साइड स्ट्यान्डमा इन्जिन बन्द गर्ने स्विचजस्ता सुविधाले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
स्कुटर सार्वजनिक कार्यक्रममा एमएडब्ल्यू राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले प्रत्येक चालकको आफ्नै व्यक्तित्व र विशिष्ट शैली हुने बताए।
उनका अनुसार फ्यासिनो हाइब्रिड आफ्नो पहिचान स्थापित गर्न र सवारीमार्फत मौलिकता प्रस्तुत गर्न चाहने ग्राहकलाई लक्षित गरी तयार गरिएको हो।
“हामीले ग्राहकलाई यहाँ आएर आफूलाई सुहाउने व्यक्तित्व पहिचान गर्न र स्कुटरलाई केवल एउटा उत्पादनका रूपमा नभई आफ्नो व्यक्तित्वको हिस्साका रूपमा हेर्न सकून् भन्ने चाहेका छौँ,” उनले भने।
कम्पनीका अनुसार आकर्षक डिजाइन र आधुनिक हाइब्रिड प्रविधिको संयोजनले फ्यासिनो १२५ एफआई हाइब्रिडलाई दैनिक प्रयोगका लागि सहज बनाउनुका साथै चालकको व्यक्तिगत शैली अभिव्यक्त गर्ने माध्यमका रूपमा प्रस्तुत गरेको छ।
तीन भेरियन्टमा उपलब्ध, मूल्य कति ?
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड नेपाली बजारमा तीन भेरियन्टमा उपलब्ध भएको छ। यसको मूल्य निम्नानुसार निर्धारण गरिएको छ।
फ्यासिनो ड्रम : २ लाख ९९ हजार ९०० रुपैयाँ
फ्यासिनो डिस्क : ३ लाख २९ हजार ९०० रुपैयाँ
फ्यासिनो एस : ३ लाख ५९ हजार ९०० रुपैयाँ
नयाँ फ्यासिनो १२५ एफआई हाइब्रिड यामाहाका देशभर रहेका शोरुम तथा आधिकारिक विक्रेतामार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।














