विद्यार्थीले उत्पादन गरेको टमाटर बेच्न बजारमा खटिए प्रधानाध्यापक



रुपन्देही । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको टमाटर बिक्री गर्न प्रधानाध्यापक सुवाचन्द्र बजाडे आफैँ बजारमा खटिएका छन् ।

विद्यार्थीले मिहिनेत गरेर उत्पादन गरेको कृषि उपज खेर जान नदिन उनी टमाटर बोकेर बजार पुग्ने, घरघरमा पुर्‍याउने र फोनमार्फत अर्डर लिने काममा जुटेका हुन् ।

भूमिकास्थान नगरपालिकाको ‘पढ्दै, कमाउँदै, रमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयमा तीनवटा टनेल बनाएर टमाटर खेती गरिएको छ । हालसम्म एक क्विन्टल टमाटर बिक्री भइसकेको र थप एक क्विन्टल उत्पादनका लागि तयार रहेको प्रधानाध्यापक बजाडेले बताए । विद्यालयले प्रतिकिलो ९० रुपैयाँका दरले दैनिक ३० देखि ४० किलोसम्म टमाटर बिक्री गर्दै आएको छ ।

दसैँ बिदाका कारण विद्यार्थी विद्यालय नआउँदा टमाटर टिपेर बिक्री गर्न समस्या भएपछि आफू बजारमा खटिएको बजाडेले बताए ।

विद्यालयले टमाटरसँगै गोभी र प्याजका बिरुवा उत्पादन गरी बिक्री गर्ने तयारी गरेको छ । एउटा टनेललाई नर्सरीका रूपमा प्रयोग गरेर मौसमअनुसारका बिरुवा उत्पादन गरी स्थानीय किसानलाई बेच्ने योजना पनि विद्यालयको छ ।

कार्यक्रमबाट भएको आम्दानी विद्यालयको उद्यम कोषमा जम्मा गरिन्छ । कोषको रकमबाट विपन्न विद्यार्थीलाई कापी, किताबलगायत शैक्षिक सामग्रीसमेत उपलब्ध गराइँदै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञ भुसालका अनुसार दुई वर्षअघि सुरु भएको कार्यक्रममा करिब २५० विद्यार्थी सहभागी छन् । विद्यार्थीले विद्यालयमा सिकेको कृषि सीप घरमा पनि प्रयोग गरून् भन्ने उद्देश्यले टमाटरका बिरुवा घरघरमा वितरण गरिएको उनले बताए ।

कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक सीप, श्रमप्रतिको सम्मान र उद्यमशीलताको महत्त्व सिकाएको छ । कक्षा १० का विद्यार्थी विराट बजाडे र बिपना भुसालले विद्यालयमा सिकेको कृषि प्रविधि घरमा समेत प्रयोग गर्न थालेको बताएका छन् ।

पढाइलाई उत्पादन र आम्दानीसँग जोड्ने कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै विद्यालयलाई व्यावहारिक सिकाइ र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्‍याएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार