आईपीओ तयारीमा ‘मेरो किसान’ : पूँजी वृद्धि गर्दै सार्वजनिक कम्पनी बन्ने तयारी



काठमाडौं। डिजिटल कृषि वित्तीय सेवा क्षेत्रमा क्रियाशील मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीको पाँचौँ वार्षिक साधारण सभाले पूँजी वृद्धि तथा सार्वजनिक निष्काशनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

सिनामंगलस्थित राइन होटल (बेस्ट वेस्टर्न प्लस) मा सम्पन्न सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष विष्णुमणि गौतमले कृषि क्षेत्रमा प्रविधिमा आधारित वित्तीय पहुँच विस्तार गर्दै कम्पनीलाई थप सशक्त र जनमुखी संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले आईपीओ निष्काशनको तयारी कम्पनीको दीर्घकालीन विकास यात्राको महत्वपूर्ण चरण भएको उल्लेख गरे।

त्यसैगरी कम्पनीका प्रबन्ध निर्देशक अविनाश सिलवालले डिजिटल कृषि वित्तीय सेवाप्रति किसानको बढ्दो विश्वास र बजारको सम्भावनालाई मध्यनजर गर्दै व्यवसाय विस्तारका योजना अघि बढाइएको जानकारी दिए। उनले पूँजी बजारमा प्रवेशले कम्पनीको संस्थागत क्षमता तथा सेवा विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पारित गरेको छ।

साधारण सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, कम्पनीको उद्देश्य थप गर्ने तथा प्रबन्धपत्र र नियमावली समयानुकूल संशोधन गर्ने प्रस्तावहरू पनि प्रस्तुत गरिएको थियो। साथै नियामक निकायबाट आवश्यक निर्देशन प्राप्त भएमा सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति दिएको छ।

कम्पनीले कृषि क्षेत्रमा वित्तीय पहुँच विस्तार, प्रविधिमैत्री सेवा प्रवर्द्धन तथा दिगो व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

मेरो किसान लिमिटेडको आईपीओ निष्काशन तथा पूँजी वृद्धि सम्बन्धी निर्णयले कम्पनीलाई सार्वजनिक कम्पनीका रूपमा रूपान्तरण गर्दै नेपालको पूँजी बजारमा प्रवेश गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमवार