काठमाडौं, साउन १६ । “कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन” भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय कोदो दिवस शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित मौलिक भान्साघरमा विभिन्न सरोकारवालाको सहभागितामा सम्पन्न भएको छ।
कोदो तथा फापर सङ्घका अध्यक्ष डीबी बस्नेतको सभापतित्व तथा सङ्घीय सांसद प्रकाश सिंह कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेकपा नेता नारायणकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरे, नेपाल निर्यात महासङ्घका अध्यक्ष गोविन्द घिमिरे, एफएओका प्रतिनिधि डाल प्रसाद पुडासैनी, नेपाल कृषि महासङ्घका अध्यक्ष शिवसुन्दर श्रेष्ठ, महासङ्घका केन्द्रीय सदस्यहरू राजकुमार कार्की, सुनिता निमाफुकी, नानीराज घिमिरे, विश्वनाथ खनाल, सुदर्शन कार्की, मौलिक भान्साघरका प्रबन्ध निर्देशक सुमन दाहाल, कालिकोट राजकोटका पूर्वमेयर काशीराज बराल तथा विभिन्न वस्तुगत सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपाल डेरी एसोसिएसन, मौलिक भान्साघर, कृषि विकास बैंक, कृषि विभाग, नार्क लगायतका सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा कोदो उत्पादन, पोषण, बजारीकरण र यसको आर्थिक सम्भावनाबारे व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा कृषि विकास बैंकका प्रतिनिधि दीपेन्द्र जोशीले प्रमुख कार्यपत्र प्रस्तुत गर्दै कोदो खेतीको वर्तमान अवस्था, उत्पादन वृद्धि र आर्थिक सम्भावनाका विषयमा आफ्नो धारणा राखेका थिए। एफएओका प्रतिनिधि डाल प्रसाद पुडासैनीले कोदो खाद्य तथा पोषण सुरक्षाका साथै दिगो कृषि प्रणालीका लागि महत्वपूर्ण बाली भएको उल्लेख गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय सदस्य सुनिता निमाफुकीले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन र महिलाको आर्थिक सशक्तीकरणमा कोदो उत्पादनले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। महासङ्घका केन्द्रीय सदस्य राजकुमार कार्कीले विगतमा उपेक्षित मानिएको कोदो अहिले स्वास्थ्य र पोषणका दृष्टिले महत्वपूर्ण खाद्यान्नका रूपमा स्थापित हुँदै गएको धारणा व्यक्त गरे।
महासङ्घका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कोदो उत्पादन बढाउन किसानलाई प्रोत्साहनका कार्यक्रम विस्तार गर्नुपर्ने र सरकारले समर्थन मूल्य निर्धारण गर्न आवश्यक रहेको बताए। नेपाल निर्यात महासङ्घका अध्यक्ष गोविन्द घिमिरेले कोदो तथा यसबाट उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि प्रशोधन, ब्रान्डिङ र विविधीकरणमा विशेष जोड दिनुपर्ने बताए।
प्रमुख अतिथि सांसद प्रकाश सिंह कार्कीले कोदोको पोषण, स्वास्थ्य तथा आर्थिक महत्वप्रति पछिल्लो समय जनचासो उल्लेखनीय रूपमा बढेको भन्दै कृषि क्षेत्रको विकास र कोदो प्रवर्द्धनका लागि आवश्यक नीतिगत पहल गर्न आफू प्रतिबद्ध रहेको बताए।
कार्यक्रमको अध्यक्षता गरेका कोदो तथा फापर सङ्घका अध्यक्ष डीबी बस्नेतले कोदो उत्पादन, बजारीकरण र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, निजी क्षेत्र, कृषक र उपभोक्ताबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले स्वदेशी अन्नबालीको संरक्षण र प्रवर्द्धनका लागि सबै नेपालीलाई कोदो उत्पादन तथा नियमित उपभोगमा जोडिन आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरे।






