आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन आग्रह



काठमाडौं । आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार शुक्रबार र शनिबार मौसम सामान्यतया सफा रहनेछ। आइतबारदेखि भने केही स्थानमा वर्षासँगै मेघगर्जन, चट्याङ र असिना पर्न सक्ने सम्भावना छ। यसको प्रभाव बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रमा समेत पर्न सक्नेछ।

सम्भावित वर्षा र असिनाबाट धानबालीमा क्षति पुग्न सक्ने भन्दै मौसमविद्ले किसानलाई काट्न बाँकी धान समयमै भित्र्याउन तथा काटिसकेको धान र पराल सुरक्षित राख्न सुझाव दिएका छन्।

मौसमविद् विभूति पोखरेलका अनुसार प्रणाली ठूलो प्रभाव पार्ने खालको नरहे पनि पहाडी क्षेत्रमा मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्छ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार