एनपीएलमा सन्दीपकाे सनसनी बलिङ, ह्याट्रिकसहित लिए ६ विकेट



काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ओपनर युवराज सिंह सम्राले ८४ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा पोखरा १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा अलआउट भएको हो ।

पोखराका लागि युवराजले आक्रमक ब्याटिङ गरेपनि अन्य ब्याटरले राम्रो साथ दिन सकेनन् । सम्राले ४७ बल खेल्दै ७ चौका र ५ छक्का मदतमा सर्वाधिक ८४ रन बनाए । सम्रासहित धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

७६–५ को स्थितीबाट युवराज र धनन्जयले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स सम्हालेका थिए । धनन्जयले १५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । सन्नीले ११ बलमा १ छक्का मदतमा १२ रन जोडे । अर्जुन कुमाल १, अर्जुन घर्ती ५ र बिपिन खत्री ५ रनमा आउट भए ।

पोखराका कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता समेत खोल्न सकेनन् । सागर ढकाल १ रनमा अविजित रहे । पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् ।

उनले १५औं ओभरको तेस्रो, चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन् । सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बने । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए ।

सन्दीपले यसअघि ५ खेलमा १ विकेट मात्र लिएका थिए भने आज एकै खेलमा ६ विकेट लिइसकेका छन् । उनी एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडी बनेका छन् । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए ।

एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए ।

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते बिहिवार