ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभर देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दा घरधनीको पूर्वअनुमति लिन आग्रह गरेको छ। तिहार तथा छठ पर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो।
कार्यालयले देउसी–भैलो खेल्दा सम्बन्धित घरधनी, सञ्चालक वा जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ। अनुमति नलिइएको स्थानमा जबरजस्ती देउसी–भैलो खेल्ने, चन्दा वा दक्षिणा माग्ने कार्य नगर्न पनि प्रशासनले सचेत गराएको छ। त्यस्तै, देउसी–भैलोमा सहभागी हुने व्यक्तिहरूले मादक पदार्थ सेवन गरी कार्यक्रम सञ्चालन गर्ने, होहल्ला गर्ने, झैझगडा गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि गर्न नपाइने सूचनामा उल्लेख छ।
सार्वजनिक स्थानमा कार्यक्रम सञ्चालन गर्दा ध्वनि प्रदूषण हुने गरी अत्यधिक ठूलो आवाजमा माइक, साउन्ड सिस्टम, बाजा तथा अन्य ध्वनि उपकरण प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ। अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ।
यसैगरी, पटका, आतिसबाजी, भुइँचम्पा, रकेट, विस्फोटक पदार्थ तथा आगलागी वा चोटपटकको जोखिम हुने सामग्री प्रयोग, ओसारपसार, बिक्री, वितरण र भण्डारण नगर्न प्रशासनले निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले तिहार र छठजस्ता सांस्कृतिक तथा धार्मिक पर्वको मौलिकता, परम्परा र सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण एवं सुरक्षित रूपमा पर्व मनाउन जिल्लावासीलाई अनुरोध गरेको छ।

















