जिम्मेवारीबाट हटाइएका पूर्वआईजीपी कार्की पुनर्वहालीको माग गर्दै सर्वोच्च जाने



काठमाडौं । जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहालीको मागसहित सर्वोच्च अदालत जाने भएका छन्।

कार्की निकट एक कानुन व्यवसायीका अनुसार कानुनले तोकेको सेवा अवधि, पदावधि र उमेर हद कायम रहेकै अवस्थामा कुनै उचित कारणबिना जिम्मेवारीबाट हटाइनु प्रहरी ऐनविपरीत भएको जिकिर गर्दै रिट दायर गर्न लागिएको हो।

रिटमा प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ का प्रावधानअनुसार कार्कीलाई पदबाट हटाउनुपर्ने कुनै कानुनी आधार नरहेको दाबी गरिएको छ।

कार्की २०५४ चैत १८ गते नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। प्रहरी महानिरीक्षकका लागि ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर हदको व्यवस्था छ। २०२९ साउन १५ गते जन्मिएका कार्की हाल ५४ वर्षका छन्। त्यस्तै, प्रहरी महानिरीक्षकको पदावधि चार वर्ष तोकिएको छ। उनी गत कात्तिक २७ गते आईजीपी नियुक्त भएको एक वर्ष पूरा हुँदै थियो।

कार्कीको पक्षबाट दायर हुने मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य र गोविन्द बन्दीसहितका कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति : २०८३ कार्तिक २० गते बिहिवार