काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको १८औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रो, दोचा मार्गमा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले निर्धारण गरेको निर्णयअनुसार आयोजना गरिएको सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अघि बढाउने र त्यससम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि घिसिङले बुद्धभूमि नेपाल हाइड्रोपावरले ऊर्जा क्षेत्रमा हासिल गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै जलविद्युत् क्षेत्रको विकासले मुलुकको आर्थिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए।
नेपालमा जलविद्युत् उत्पादनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसको प्रभावकारी उपयोगका लागि थप लगानी, उत्पादन क्षमता विस्तार र निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। स्वदेशमै ऊर्जा उत्पादन बढाएर जलविद्युत् क्षेत्रलाई आर्थिक तथा सामाजिक विकासको बलियो आधार बनाउनुपर्ने उनको भनाइ थियो।
कम्पनीले हासिल गरेको प्रगतिले निजी क्षेत्रको सहभागितामा पनि ऊर्जा विकासलाई अघि बढाउन सकिने सकारात्मक सन्देश दिएको उनले बताए।
घाटाबाट नाफामा फर्कियो कम्पनी
बुद्धभूमि नेपाल हाइड्रोपावरको वित्तीय अवस्थामा पछिल्लो आर्थिक वर्षमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म २ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानी व्यहोरेको कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आइपुग्दा १ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ।
यससँगै कम्पनी घाटाबाट नाफामा फर्किएको छ। यद्यपि, वित्तीय अवस्थामा सुधार आए पनि कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीले २०७८ सालमा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गरेको भए पनि हालसम्म लाभांश वितरण गर्न सकेको छैन।
कात्तिक १० गते बुक क्लोज
साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक १० गते एक दिनका लागि शेयर दाखिला खारेज (बुक क्लोज) गरेको थियो। यसअनुसार कात्तिक ९ गतेसम्म कम्पनीको शेयरधनी कायम रहेका लगानीकर्ताले मात्र सभामा सहभागिता जनाउने अधिकार पाएका थिए।
वित्तीय अवस्थामा सुधार गर्दै नाफामा फर्किन सफल भएको कम्पनीका लागि आगामी दिनमा सञ्चालन क्षमता विस्तार, वित्तीय सुदृढीकरण र शेयरधनीलाई प्रतिफल दिन सक्ने अवस्था निर्माण गर्नु महत्त्वपूर्ण चुनौतीका रूपमा रहनेछ।
















