काठमाडौं । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दसौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न सभाले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने र १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण छलफल गरी अनुमोदन गरेको छ। साथै, बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ।
कम्पनीको पूँजी संरचना थप मजबुत बनाउने तथा आगामी वित्तीय आवश्यकता व्यवस्थापन गर्ने उद्देश्यले बोनस र हकप्रद शेयर जारी गर्ने प्रस्ताव अघि बढाइएको कम्पनीले जनाएको छ। सभाबाट पारित प्रस्तावअनुसार कम्पनीले विद्यमान शेयरधनीलाई एक कित्ता शेयर बराबर एक कित्ता हकप्रद शेयर उपलब्ध गराउने प्रक्रिया अघि बढाउनेछ।
त्यस्तै, कम्पनीको प्रबन्धपत्रका विभिन्न दफाहरू संशोधन गर्ने, साधारण शेयरमा परिणत गर्न सकिने गरी ऋणपत्र (डिबेन्चर) जारी गर्ने तथा त्यसबाट प्राप्त रकम उपयोग गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने प्रस्ताव पनि पारित भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालक समितिबाट कम्पनीको व्यवसाय सञ्चालन, लगानी, ऋण तथा कर्पोरेट ग्यारेन्टीसम्बन्धी भएका निर्णयहरूलाई समेत सभाले अनुमोदन गरेको छ।
रुदी खोला ‘ए’ र ‘बी’ आयोजनाबाट विद्युत उत्पादन
बिन्ध्यवासिनी हाइड्रोपावरले रुदी खोला ‘ए’ र रुदी खोला ‘बी’ जलविद्युत आयोजनामार्फत विद्युत उत्पादन तथा बिक्री गर्दै आएको छ। दुवै आयोजना कास्की र लमजुङ जिल्लाका विभिन्न क्षेत्रमा अवस्थित छन्। रुदी खोला ‘ए’ आयोजनाको पावरहाउस कास्कीको मादी गाउँपालिका–बालुवाबेसीमा रहेको छ भने हेडवर्क्स लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेको छ। त्यसैगरी, रुदी खोला ‘बी’ आयोजनाको पावरहाउस क्व्होलासोथार गाउँपालिका क्षेत्रमा रहेको छ।
४५ करोडभन्दा बढी विद्युत बिक्री आम्दानी
कम्पनीको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा विद्युत बिक्रीबाट ४५ करोड ५२ लाख ७० हजार ६७३ रुपैयाँ आम्दानी गरेको छ। यस अवधिमा लाभांश, बैंक मौज्दातको ब्याज तथा ऋण र अग्रिम रकमबाट प्राप्त ब्याजलगायत अन्य स्रोतबाट ४२ लाख ८४ हजार ५३१ रुपैयाँ आम्दानी भएको छ।

सोही आर्थिक वर्षमा कम्पनीको बैंक ब्याज खर्च १२ करोड १७ लाख ३८ हजार ६१७ रुपैयाँ रहेको छ। त्यस्तै, मर्मतसम्भारमा १ करोड ७५ लाख ३६ हजार ८२७ रुपैयाँ र अन्य व्यवस्थापन खर्चमा ५ करोड ९८ लाख ३६ हजार १५३ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पूँजी २ अर्ब ३७ करोड २५ लाख ८० हजार रुपैयाँ र चुक्ता पूँजी १ अर्ब १८ करोड ६२ लाख ९० हजार रुपैयाँ रहेको छ।
नयाँ लेखापरीक्षक नियुक्त
सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि जे.पी.एन. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ।
कम्पनीले जलविद्युत आयोजनाको दिगो सञ्चालन, वित्तीय व्यवस्थापन र आगामी योजनालाई प्रभावकारी बनाउने लक्ष्यसहित पूँजी वृद्धि तथा स्रोत व्यवस्थापनका प्रस्ताव अघि बढाएको हो।
दसौँ साधारणसभाबाट पारित बोनस तथा हकप्रद शेयरसम्बन्धी निर्णयले कम्पनीको पूँजी आधार विस्तार गर्नुका साथै आगामी व्यावसायिक योजना कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















