प्रारम्भिक बालविकास शिक्षकको नयाँ पाठ्यक्रम सार्वजनिक, लिखित परीक्षा १०० र अन्तर्वार्ता २५ अंकको

पाठ्यक्रमअनुसार वस्तुगत परीक्षामा २५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन्। प्रत्येक प्रश्नको दुई अंक हुनेछ भने परीक्षा अवधि ४५ मिनेट तोकिएको छ


काठमाडौं । प्रारम्भिक बालविकास शिक्षकको खुला प्रतियोगितात्मक परीक्षाका लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरिएको छ। प्रारम्भिक बालविकास शिक्षक, विद्यालय सहयोगी तथा विद्यालय सहायक कर्मचारी छनोटका लागि नयाँ पाठ्यक्रम, २०८३ सार्वजनिक गरिएको हो।

नयाँ पाठ्यक्रममा बालविकासको अवधारणा, बालमनोविज्ञान, शिक्षण विधि, पाठ्यक्रम, दैनिक कार्यतालिका, बालमैत्री वातावरण, स्वास्थ्य, पोषण, सुरक्षा तथा मूल्याङ्कनलगायतका विषय समेटिएका छन्।

पाठ्यक्रमअनुसार प्रारम्भिक बालविकास शिक्षकको लिखित परीक्षा वस्तुगत र विषयगत गरी दुई चरणमा सञ्चालन हुनेछ। दुवै परीक्षाको पूर्णाङ्क ५०/५० निर्धारण गरिएको छ। यसरी लिखित परीक्षाको कुल पूर्णाङ्क १०० हुनेछ भने अन्तर्वार्ताका लागि थप २५ अंक छुट्याइएको छ।

प्युठानको माण्डवी गाउँपालिकाले पाठ्यक्रम तयार पारेको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि परीक्षाको संरचनाबारे चासो बढेको छ। पाठ्यक्रमअनुसार वस्तुगत परीक्षामा २५ वटा बहुवैकल्पिक प्रश्न सोधिनेछन्। प्रत्येक प्रश्नको दुई अंक हुनेछ भने परीक्षा अवधि ४५ मिनेट तोकिएको छ। यस परीक्षाको उत्तीर्णाङ्क २५ रहेको छ।

त्यस्तै, विषयगत परीक्षामा १० वटा छोटो उत्तर दिने प्रश्न समावेश हुनेछन्। प्रत्येक प्रश्न पाँच अंकको हुनेछ। यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ भने उत्तीर्ण हुन कम्तीमा २० अंक प्राप्त गर्नुपर्नेछ।

वस्तुगत परीक्षामा गलत उत्तर दिएमा सम्बन्धित प्रश्नको प्राप्ताङ्कको २० प्रतिशत अंक कट्टा गरिने व्यवस्था छ। वस्तुगत परीक्षामा उत्तीर्ण भएका उम्मेदवारले मात्रै विषयगत परीक्षामा सहभागी हुन पाउनेछन्। विषयगत परीक्षामा समेत उत्तीर्णाङ्क हासिल गर्ने उम्मेदवारको अन्तिम लिखित नतिजा तयार गर्दा वस्तुगत परीक्षामा प्राप्त अंकको ५० प्रतिशत जोडिनेछ।

परीक्षा नेपाली वा अंग्रेजी दुवै भाषामा दिन सकिने व्यवस्था गरिएको छ। पाठ्यक्रममा समावेश कानुन, नियम तथा नीतिमा संशोधन भएमा वा नयाँ व्यवस्था थपिएमा परीक्षाको मितिभन्दा तीन महिनाअघिसम्म कायम रहेको व्यवस्थालाई आधार मानिने उल्लेख छ।

वस्तुगत परीक्षामा के–के पढ्नुपर्छ ?

वस्तुगत परीक्षाका लागि प्रारम्भिक बालविकास शिक्षकको परिचय, नीति तथा कानुनी व्यवस्था, बालविकासको अवधारणा र महत्वलाई मुख्य विषयका रूपमा राखिएको छ। नेपालको संविधानका धारा ३१ र ३९, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएका बालविकाससम्बन्धी प्रावधानबाट पनि प्रश्न सोधिनेछन्।

यसका साथै प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम २०७७ (परिमार्जन २०८२) को परिचय, संरचना र वार्षिक कार्यान्वयनसम्बन्धी विषय पनि समावेश छन्।

बालबालिकाको शारीरिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक, नैतिक, बौद्धिक तथा मानसिक विकासका पक्षलाई पाठ्यक्रमले प्राथमिकता दिएको छ। स्वास्थ्य, पोषण, सुरक्षा र सिर्जनात्मक विकाससम्बन्धी विषयवस्तु पनि परीक्षाको तयारीका लागि महत्वपूर्ण हुनेछन्।

त्यस्तै, प्रारम्भिक बालविकास सहजकर्ताका तहगत सक्षमता, आधारभूत तथा विषयगत सीप, पूर्वभाषिक र पूर्वगणितीय सीप, दृश्यकला तथा सिर्जनशीलता विकासका विधिबारे पनि प्रश्न सोधिनेछ।

स्थानीय विषयवस्तुको प्रयोग, बालगीत, खेल तथा कथामार्फत सिकाइ, बालमैत्री वातावरण निर्माण, बालविकास केन्द्र र कक्षाकोठा व्यवस्थापन, बैठक व्यवस्थापन तथा सिकाइ कुनाको स्थापना पनि पाठ्यक्रममा समेटिएका छन्।

बालबालिकाको स्वास्थ्य, पोषण, व्यक्तिगत सुरक्षा, गुड टच र ब्याड टचको पहिचान, दुर्घटनाबाट बच्ने उपाय तथा व्यक्तिगत सरसफाइसम्बन्धी विषयलाई समेत समावेश गरिएको छ। समावेशी शिक्षाअन्तर्गत फरक क्षमता, भाषा र पृष्ठभूमि भएका बालबालिकाको सिकाइ सहजीकरण तथा विशेष आवश्यकता भएका बालबालिकाको व्यवस्थापनबारे पनि उम्मेदवारको ज्ञान परीक्षण गरिनेछ।

प्रकाशित मिति : २०८३ कार्तिक ३० गते आइतवार