काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित नेपाली राजदूतहरूको अग्रिमो सम्बन्धित मुलुकबाट प्राप्त भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारले १० जना प्रस्तावित राजदूतको नाम अग्रिमोका लागि पठाएकोमा शुक्रबारसम्म तीन देशबाट स्वीकृति प्राप्त भएको हो ।
भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई संसदीय सुनुवाइ समितिले राजदूतका लागि अनुमोदन गरेको थियो । सम्बन्धित देशबाट अग्रिमो प्राप्त भएसँगै उनीहरूलाई राजदूत नियुक्त गर्ने बाटो खुलेको छ । अब राष्ट्रपतिबाट नियुक्त भएपछि उनीहरू सम्बन्धित मुलुकमा गएर कार्यभार सम्हाल्नेछन् ।
स्रोतका अनुसार सोमबारसम्म तीनै जनालाई राजदूत नियुक्त गर्ने सरकारको तयारी छ । प्रधानमन्त्रीको भारत भ्रमणको मिति नजिकिँदै गर्दा भ्रमणको तयारी र कूटनीतिक समन्वयका लागि पनि भारतमा राजदूत आवश्यक भएकाले अग्रिमो प्राप्त भइसकेका राजदूतलाई छिट्टै नियुक्त गर्न लागिएको हो ।
यसैबीच अमेरिका, बेलायत र जर्मनीलगायत सात देशका लागि प्रस्तावित राजदूतहरूको अग्रिमो आउन बाँकी छ । कूटनीतिक भाषामा अग्रिमो भन्नाले कुनै देशमा राजदूतका रूपमा नियुक्त गर्न प्रस्ताव गरिएको व्यक्तिलाई सम्बन्धित मुलुकले दिने पूर्वस्वीकृति हो ।
















