काठमाडौं । सवारी तथा यातायात व्यवस्था नियमावली, २०६३ मा तोकिएका मापदण्डविपरीत सवारीसाधन दर्ता तथा सञ्चालन गर्ने प्रयास नगर्न सम्बन्धित कम्पनी तथा यातायात व्यवसायीलाई खबरदारी गरिएको छ।
हाल विभिन्न कम्पनीहरूले प्रचलित नियमावलीमा तोकिएका मापदण्ड पूरा नगरी सवारीसाधन दर्ता गर्ने प्रयास गरिरहेको जानकारी प्राप्त भएको भन्दै त्यस्ता कार्य नगर्न सचेत गराइएको हो।
नियमावलीअनुसार सवारीसाधनको सिट संख्या, लम्बाइ, चौडाइ, उचाइ, सिटबीचको दूरी, भुइँको उचाइ, प्रवेशद्वारलगायतका प्राविधिक तथा संरचनागत मापदण्ड तोकिएका छन्। त्यसैले तोकिएको मापदण्ड पूरा नगरेका सवारीसाधनलाई दर्ता वा सञ्चालनका लागि प्रक्रिया अघि नबढाउन सम्बन्धित निकायलाई समेत ध्यानाकर्षण गराइएको छ।
नियमविपरीत सवारी दर्ता तथा सञ्चालन गर्ने कार्यले यात्रुको सुरक्षा र सार्वजनिक यातायातको व्यवस्थापनमा प्रतिकूल असर पार्न सक्ने भएकाले नियमावलीको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ।
सवारी तथा यातायात व्यवस्था नियमावली, २०६३ विपरीत कुनै पनि कम्पनी वा संस्थाले सवारी दर्ता तथा सञ्चालन गर्न खोजेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने भएकाले त्यस्ता कार्य नगर्न सम्बन्धित सबैलाई यसै सूचनामार्फत सचेत गराइएको छ।







