एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपालको १४औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपालको १४औँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न साधारणसभामा होटल तथा पर्यटन व्यवसायका समसामयिक विषय, व्यवसायीका समस्या, हकहित, पर्यटन प्रवर्द्धन तथा संस्थागत विकासका विषयमा छलफल गरिएको छ।

साधारणसभामा संघको वार्षिक गतिविधि तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै होटल तथा गेस्टहाउस व्यवसायीले भोगिरहेका समस्या र व्यवसाय सञ्चालनका चुनौतीबारे सरोकारवालाबीच छलफल गरिएको थियो। पर्यटन क्षेत्रको विकास तथा व्यवसाय प्रवर्द्धनका लागि सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।
कार्यक्रममा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव धमला विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

त्यस्तै पर्यटन मन्त्रालयका पर्यटन विज्ञ तथा वातावरणविद् पीके शेर्पा, गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काजिमान सुब्बा, होटल व्यवसायी महासंघ, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

साधारणसभामा उत्कृष्ट होटल तथा पर्यटन व्यवसायीलाई सम्मान गरिएको थियो। साथै एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने व्यवसायीका छोराछोरी तथा संघको संस्थागत विकास, व्यवसायीको हकहित र संगठन सुदृढीकरणमा योगदान पुर्‍याएका पूर्वकार्यसमिति सदस्य एवं सल्लाहकारलाई समेत सम्मान गरिएको संघले जनाएको छ।

कार्यक्रममा होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य, संघसँग आबद्ध विभिन्न इकाइका प्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका वडा नं. ७, ८ र ९ का वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो। नेपाल प्रहरी, पर्यटन प्रहरी, ट्राफिक प्रहरी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिताले होटल तथा पर्यटन क्षेत्रसँग जोडिएका सुरक्षा, पर्यटक व्यवस्थापन, यातायात तथा धार्मिक–पर्यटकीय क्षेत्रको व्यवस्थापनका विषयमा समेत छलफल भएको थियो।

संघका अध्यक्ष सरोज आलेले होटल तथा गेस्टहाउस व्यवसायीबीच एकता, सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै संघले आगामी दिनमा व्यवसायीका समस्या समाधान तथा पर्यटन क्षेत्रको विकासका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्ने बताए।

वि.सं. २०६९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता भएको एकता होटल तथा गेस्टहाउस व्यवसायी संघ नेपालले होटल तथा गेस्टहाउस व्यवसायीलाई संगठित गर्दै व्यवसायीका हकहित तथा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै आएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार