काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा पार्टीले बेहोरेको पराजयका पछाडि ६ प्रमुख कारण रहेको निष्कर्ष निकालेका छन्।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलका लागि तयार पारिएको प्रतिवेदनमा सरकारले जनचाहनाअनुसार काम गर्न नसक्नु, बदलिँदो जनअपेक्षा सम्बोधन नहुनु, जेनजी आन्दोलनबारे एमालेको धारणा जनताले स्वीकार नगर्नु, पार्टीभित्रको अलोकतान्त्रिक शैली, युवाको समर्थन घट्नु तथा सामाजिक सञ्जालको अल्गोरिदम र बाह्य प्रभाव बुझ्न नसक्नुलाई प्रमुख कारणका रूपमा औँल्याइएको छ।
सात प्रदेश कमिटीसहित १३ स्थानबाट संकलित सुझाव समेटिएको प्रतिवेदनले एमालेको पराजयलाई केवल बाह्य शक्तिको चलखेलको परिणाम मान्न नसकिने उल्लेख गरेको छ। जेनजी आन्दोलनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारिनु र युवाहरू एमालेको पक्षमा नदेखिनुलाई पनि पराजयका कारण मानिएको छ।






