एमाले नेता थापाद्वारा मुख्यमन्त्रीमा दाबी पेश, आजै सपथ



काठमाडौँ । बागमती प्रदेशमा नेकपा एमालेका सांसद किरण थापाले मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्। थापाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई भेटेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गरेका हुन्। सदनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भएपछि बागमतीमा एमाले नेतृत्वको सरकार गठनको बाटो खुलेको हो।

केन्द्रीय तहमा भएको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको थियो। तर, एमालेभित्र मुख्यमन्त्रीको उम्मेदवार चयनमा विवाद हुँदा सरकार गठन प्रक्रिया केही समय अन्योलमा परेको थियो। मंगलबार बसेको एमाले संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई संसदीय दलको नेतामै कायम राख्दै मुख्यमन्त्रीका रूपमा किरण थापालाई अघि बढाउने सहमति गरेपछि सरकार गठनको प्रक्रिया अघि बढेको हो।

हाल बागमती प्रदेशसभामा १०४ सांसद कायम छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपासँग २६, एमालेसँग २५ र राप्रपासँग १२ सांसद छन्। यी दलको समर्थन जोड्दा सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार