बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन् । सोमबार सदनमा विश्वासको मत लिने क्रममा बोल्दै बानियाँले राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिएपछि सदनमा मत विभाजन प्रक्रियामा अगाडि नै बढेन । सदनमा सम्बोधन गर्दै उनले आफ्नो १३ महिने कार्यकालको जानकारी सदनलाई गराएका थिए ।
एमालेले साउन ६ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत लिनुपर्ने बाध्यता सिर्जना भएको थियो ।
सरकार जोगाउन उनले हाम्रो नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को समर्थन जुटाउने प्रयास गरेपनी नजुटेपछि राजीनामा दिन बाध्य भएका हुन् । विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन मुख्यमन्त्री बानियाँले शुक्रबार प्रदेशसभा सचिवालयलाई पत्राचारसमेत गरेका थिए।
१०४ सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।






