बागमती सरकारले स्वरोजगार व्यवसायीलाई ५ प्रतिशत ब्याज अनुदान दिने



मकवानपुर । बागमती प्रदेश सरकारले स्वरोजगार व्यवसायी तथा उद्यमीलाई सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याजमा अनुदान दिने तयारी गरेको छ। प्रदेश सरकारले उद्यमशीलता विकास र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै सहुलियतपूर्ण व्यवसाय कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको हो।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ मा यस कार्यक्रमका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। हेटौँडामा आयोजित स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधिसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयले कार्यक्रमबारे जानकारी गराएको हो।

कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले उद्योग तथा व्यवसाय सञ्चालनका लागि कर्जामा ब्याज अनुदान उपलब्ध गराउन बजेट विनियोजन गरिएको बताए। वित्तीय संस्थामा तरलता बढे पनि पर्याप्त लगानी हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन कार्यक्रम ल्याइएको उनको भनाइ छ।

मन्त्री तामाङले कार्यक्रम प्रदेश सरकारको पाइलट प्रोजेक्टका रूपमा अघि बढाइएको बताए। निजी क्षेत्रलाई अगाडि नबढाई देशको अर्थतन्त्र चलायमान हुन नसक्ने उल्लेख गर्दै उनले ब्याज अनुदान कार्यक्रमले उद्यमशीलता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मन्त्रालयका सचिव नारायणप्रसाद मैनालीले सहुलियतपूर्ण कर्जाको ब्याजमा अनुदान दिने कार्यक्रमले लगानीमैत्री वातावरण निर्माणसँगै रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने बताए।

अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष वेदबहादुर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शङ्कर गिरी, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख नुमानन्द अधिकारी लगायतले कार्यक्रम तथा कार्यविधिका विषयमा धारणा राखेका थिए।

कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जाको अवधि बढीमा पाँच वर्ष हुनेछ। कर्जामा बढीमा पाँच वर्षसम्म प्रदेश सरकारले ब्याज अनुदान उपलब्ध गराउनेछ। बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा लाग्ने पाँच प्रतिशत ब्याज प्रदेश सरकारले अनुदानस्वरूप व्यहोर्ने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार