बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिको भिडिओ प्रहरी हवल्दारले खिचेर जापानमा रहेका एक व्यक्तिलाई पठाएपछि सामाजिक सञ्जालमा सार्वजनिक भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विक अहिले प्रहरी हिरासतमा छन्। उनले बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजाँदा घटनाबारे बयान दिइरहेको भिडिओ खिचेको खुलेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार हवल्दार विकले उक्त भिडिओ आफैं सामाजिक सञ्जालमा पोस्ट गरेका थिएनन्। उनले भिडिओ खिचेर जापानमा रहेका एक व्यक्तिलाई पठाएको र त्यहीँबाट भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।
‘उनले भिडिओ खिचेर जापानमा भएको व्यक्तिलाई पठाएको देखिन्छ। त्यहाँबाट सामाजिक सञ्जालमा बाहिरिएको हो। त्यसपछि अरूले पनि पोस्ट गर्न थाले,’ एसपी कुँवरले भने। एसपी कुँवरका अनुसार उक्त भिडिओ प्रहरी कार्यालय परिसरमा खिचिएको थिएन। स्वास्थ्य परीक्षणका लागि आरोपितलाई प्रादेशिक अस्पताल कलैया लैजाँदा भिडिओ खिचिएको उनले जानकारी दिए।
घटनामा संलग्नता वा लापरबाहीबारे अन्य प्रहरी कर्मचारीमाथि पनि अनुसन्धान भइरहेको एसपी कुँवरले बताए। ‘हामीले त्यहाँ देखिएका अन्य प्रहरीमाथि पनि अनुसन्धान गरिरहेका छौँ,’ उनले भने। प्रहरीले घटनामा बालबालिकासम्बन्धी कसुर, गोपनीयतासम्बन्धी कसुर तथा विद्युतीय कारोबार ऐनअन्तर्गतका कसुरमा समेत अनुसन्धान अघि बढाउने तयारी गरेको छ।





