ईसीडी शिक्षक, विद्यालय कर्मचारी र संघीय अनुदान शिक्षकको तलब बढ्यो



काठमाडौँ । सरकारले संघीय अनुदानमा कार्यरत ईसीडी सहजकर्ता (ईसीडी शिक्षक), विद्यालय कर्मचारी र विद्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजार रुपैयाँ बढाएको छ। मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार ईसीडी सहजकर्ताले १७ हजार, विद्यालय सहयोगीले १५ हजार र लेखा हेर्ने कर्मचारीले २० हजार रुपैयाँ पाउनेछन्।

यस्तै, संघीय शिक्षण सहयोग अनुदानमा कार्यरत शिक्षकको पारिश्रमिक १० प्रतिशत वृद्धि गरिएको छ। माध्यमिक तहका शिक्षकको पारिश्रमिक ४८ हजार ५८ र आधारभूत तहका शिक्षकको ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ। सरकारका अनुसार पारिश्रमिक वृद्धिबाट राज्यलाई वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख रुपैयाँभन्दा बढी थप दायित्व पर्नेछ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार