नेकपाभित्र मन्त्री छनोट र शक्ति बाँडफाँटमा विवाद, मुख्यमन्त्री थापालाई विश्वासको मत संकट



हेटौंडा । बागमती प्रदेश सरकारको सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र मन्त्री छनोट र शक्ति बाँडफाँटलाई लिएर विवाद चर्किएको छ। आन्तरिक असन्तुष्टिका कारण सोमबार मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरे पनि नेकपाका केही सांसद प्रदेशसभा बैठकमा उपस्थित भएनन्।

नेकपा संसदीय दलका उपनेता कृष्ण शर्मा खनाल, गंगानारायण श्रेष्ठलगायत सांसदहरू असन्तुष्ट छन्। पार्टीभित्र पर्याप्त छलफल नगरी जिम्मेवारी बाँडफाँट गरिएको र पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूले मात्रै निर्णय गरेको उनीहरूको आरोप छ।

नेकपाले पाएको दुई मन्त्रालयमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरल सहयात्री पौडेललाई पठाइसकेको छ भने अर्को मन्त्रीको नाम टुंग्याउन बाँकी छ। मन्त्रीका आकांक्षी धेरै हुँदा विवाद बढेको हो। सभामुख पद पनि नेकपाको भागमा परेकाले कृष्ण शर्मा खनाल र गंगानारायण श्रेष्ठलगायत नेताहरूले दाबी गरेका छन्।

यसैबीच, सरकारलाई समर्थन गरेको राप्रपाभित्रको विवाद पनि कायमै छ। यी दुवै कारणले मुख्यमन्त्री थापालाई विश्वासको मत लिन चुनौती थपिएको छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि **५३ सांसदको समर्थन आवश्यक** छ। उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाएकी छन्।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार