जुम्लादेखि अमेरिकासम्म : देवकी रावललाई ६.५ करोड रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति



काठमाडौं । जुम्लामा विद्यालय तहको शिक्षा पूरा गरी उच्च शिक्षाका लागि काठमाडौं आएकी देवकी रावलले अमेरिकामा करिब ६.५ करोड नेपाली रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन्। सेन्ट जेभियर्स कलेज, माइतीघरमा छात्रवृत्तिमा अध्ययन गरेकी रावल अमेरिकाको प्रतिष्ठित ‘Richmond Scholar’ कार्यक्रमका लागि छनोट भएकी हुन्। यो छात्रवृत्ति मेरिटका आधारमा प्रदान गरिन्छ।

विश्वभरबाट करिब १४ हजार विद्यार्थीले आवेदन दिएको उक्त कार्यक्रमबाट छनोट भएका २५ जना विद्यार्थीमध्ये रावल पनि परेकी छन्। अत्यन्त प्रतिस्पर्धात्मक मानिने यो छात्रवृत्ति प्राप्त गर्ने नेपाली विद्यार्थीमध्ये उनी एक हुन्। Richmond Scholar अन्तर्गत रावलले अमेरिकामा आफ्नो उच्च शिक्षा अध्ययनका क्रममा करिब ६.५ करोड नेपाली रुपैयाँ बराबरको पूर्ण छात्रवृत्ति पाउनेछिन्। छात्रवृत्तिले उनको अध्ययनसँग सम्बन्धित महत्वपूर्ण खर्चहरू समेट्नेछ।

जुम्लाजस्तो दुर्गम क्षेत्रबाट विद्यालय तहको शिक्षा पूरा गरेर काठमाडौंमा छात्रवृत्तिमा उच्च शिक्षा हासिल गरेकी रावलले अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै प्रतिष्ठित छात्रवृत्ति हात पारेकी हुन्। उनको यो उपलब्धिले सीमित स्रोतसाधनका बाबजुद मेहनत, प्रतिभा र निरन्तर प्रयासमार्फत अन्तर्राष्ट्रिय अवसर हासिल गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ। रावलको सफलताले दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा र अन्तर्राष्ट्रिय अवसरका लागि थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार