विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई ५ हजार महँगी भत्ता दिने तयारी



काठमाडौं । विद्यालय सहयोगी, विद्यालय लेखापाल र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई मासिक ५ हजार रुपैयाँ महँगी भत्ता दिने प्रस्ताव शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्‌मा पठाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको पहलमा मन्त्रालयले उक्त प्रस्ताव अघि बढाएको हो। चालु आर्थिक वर्षको बजेटमा अन्य शिक्षकको तलब तथा भत्ता वृद्धि भए पनि विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई महँगी भत्ताको व्यवस्था गरिएको थिएन।

आफूहरूलाई पनि महँगी भत्ता दिनुपर्ने माग गर्दै विद्यालय कर्मचारी तथा ईसीडी शिक्षकहरूले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। समान प्रकृतिको काम गर्ने अन्य कर्मचारी तथा शिक्षकको सुविधा बढ्दा आफूहरूलाई छुटाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै आएका थिए।

मन्त्रालयले उनीहरूको माग सम्बोधन गर्न मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराउने प्रस्ताव तयार गरी मन्त्रिपरिषद्‌मा पठाएको जनाएको छ। प्रस्ताव स्वीकृत भए चालु आर्थिक वर्षदेखि नै भत्ता उपलब्ध गराउने बाटो खुल्नेछ। मन्त्रालयका अनुसार मन्त्रिपरिषद्‌बाट स्वीकृति प्राप्त भएपछि मात्रै यसको औपचारिक कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार