काठमाडौं । म्यासिमोको ESSM सिरिजको अल–इन–वन ऊर्जा भण्डारण प्रणाली काठमाडौंमा जारी नाडा अटो शोमा प्रदर्शन गरिएको छ। भदौ ९ देखि १४ गतेसम्म आयोजना भइरहेको नाडा अटो शोमा म्यासिमोले आधुनिक ऊर्जा भण्डारण प्रविधिसहितको उक्त ब्याट्री प्रणाली प्रदर्शनीमा राखेको हो।
ESSM सिरिजमा उच्च क्षमताको इन्भर्टर र लिथियम–आयन ब्याट्री एउटै युनिटमा एकीकृत गरिएको छ। यसमा LiFePO₄ (लिथियम आइरन फस्फेट) प्रविधिको ब्याट्री तथा उन्नत ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) प्रयोग गरिएको छ।
कम्प्याक्ट तथा भित्तामा जडान गर्न सकिने डिजाइन रहेको ESSM प्रणालीले कम ठाउँ ओगट्ने र छुट्टाछुट्टै ब्याट्री तथा इन्भर्टर जडान गर्नुपर्ने झन्झट कम गर्ने कम्पनीको दाबी छ। प्रणाली घर, कार्यालय, साना पसल तथा विभिन्न कार्यस्थलमा विद्युत् ब्याकअप तथा ऊर्जा भण्डारणका लागि प्रयोग गर्न सकिने बताइएको छ।
म्यासिमोका अनुसार ESSM ब्याट्रीले २ हजारभन्दा बढी चार्जिङ साइकल प्रदान गर्ने र १० वर्षभन्दा बढीको कार्यसम्पादन आयु राख्ने लक्ष्यसहित विकास गरिएको हो। साथै, छिटो चार्जिङ र इन्टेलिजेन्ट कुलिङ प्रणालीसमेत यसको विशेषताका रूपमा रहेका छन्।
परम्परागत ब्याट्री प्रणालीको तुलनामा कम मर्मतसम्भार, व्यवस्थित डिजाइन र ब्याट्री तथा इन्भर्टरलाई एउटै प्रणालीमा समेटिएकाले ESSM ले घरायसी तथा व्यावसायिक ऊर्जा व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
नाडा अटो शोमा प्रदर्शन गरिएको ESSM ब्याट्रीले विद्युतीय सवारीसाधनसँगै ऊर्जा भण्डारण तथा ब्याकअप प्रविधितर्फ पनि दर्शकको ध्यान आकर्षित गरेको छ। प्रदर्शनीमा आएका ग्राहक तथा आगन्तुकले म्यासिमोको स्टलमा पुगेर यसको प्रविधि, क्षमता र प्रयोगबारे जानकारी लिन सक्नेछन्।



