काठमाडौं । महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित धुम्बाराही पार्टी भेन्युमा शनिबार साधारणसभा सम्पन्न भएको हो।
संस्थाकी अध्यक्ष पवित्रा अधिकारीको अध्यक्षतामा सम्पन्न साधारणसभामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण समिति तथा संस्थाका सदस्यहरूको सहभागिता रहेको थियो।
सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन तथा ऋण समितिको प्रतिवेदन प्रस्तुत गरी छलफल तथा अनुमोदन गरिएको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ को अनुमानित बजेट तथा कार्यक्रम पारित गर्नुका साथै लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको व्यावसायिक नीति तथा कार्यविधि र विनियमसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो।
साधारणसभाले सञ्चालक समितिका निर्णयअनुसार भएका कारोबार अनुमोदन, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा कार्यालय प्रमुखको सेवा–सुविधासम्बन्धी विषय, ऋण अपलेखन, बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व निर्धारणलगायतका प्रस्तावमाथि पनि निर्णय गरेको छ।
यसैगरी संस्थाको एकीकरण, शेयर लाभांश वितरण, संस्थाको सम्पत्ति तथा कानुनी प्रक्रियाबाट प्राप्त अचल सम्पत्ति बिक्रीलगायतका विषयमा समेत सभामा छलफल गरिएको जनाइएको छ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले सहकारी संस्थालाई सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता पूरा गर्ने जनआधारित संस्थाका रूपमा थप सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिइन्। उनले सहकारी क्षेत्रमा देखिएका चुनौती र विकृतिका बाबजुद संस्थाले हासिल गरेको उपलब्धि तथा साखलाई कायम राख्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
अध्यक्ष अधिकारीले सदस्यहरूको इच्छा, चाहना, आकांक्षा र भावनालाई समेटेर समयसापेक्ष नीति तथा कार्यक्रम निर्माण गरी प्रभावकारी कार्यान्वयनमा जोड दिने बताइन्। साथै संस्थाको संस्थागत विकास र आगामी यात्रालाई थप मजबुत बनाउन सदस्यहरूको सक्रिय सहभागिता तथा सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

















