शिक्षा ऐन जारी भएपछि शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान हुन्छ: शिक्षामन्त्री



काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा ऐन निर्माण प्रक्रिया चाँडै टुंगोमा पुग्ने बताएका छन्। शिक्षा ऐन जारी भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने उनको विश्वास छ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ, नेपालको संयोजनमा धनगढीमा आयोजित ‘शिक्षा संवाद’ कार्यक्रममा मन्त्री पोखरेलले ऐन निर्माणका लागि देशभरबाट सुझाव संकलन भइरहेको जानकारी दिए।

उनका अनुसार सातै प्रदेशमा सञ्चालन गरिएका शिक्षा संवादबाट प्राप्त सुझाव र निष्कर्षलाई समेत शिक्षा ऐनमा समेट्ने प्रयास भइरहेको छ। शिक्षा क्षेत्रका प्रमुख सरोकारवालाको सुझावलाई समेटेर ऐनलाई थप प्रभावकारी बनाउने सरकारको तयारी रहेको उनले बताए।

मन्त्री पोखरेलले अघिल्लो सरकारले शिक्षा ऐनको मस्यौदा तयार गरे पनि विद्यार्थी, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालासँग पर्याप्त छलफल हुन नसकेकाले थप सुझाव संकलनका लागि समय दिइएको स्पष्ट पारे।

कार्यक्रममा शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले सूचना प्रविधिको तीव्र विकाससँगै विद्यार्थीको सिकाइ शैलीमा परिवर्तन आइरहेकाले शिक्षक र पाठ्यक्रमलाई पनि समयअनुकूल परिमार्जन तथा अद्यावधिक गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी सरोकारवालाले शिक्षक तथा कर्मचारीका समस्या समाधान नगरी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नसकिने बताएका थिए। उनीहरूले सरकार छलफलमा मात्र सीमित नभई समस्याको समाधानसहित प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा जोड दिए।

साउन ३१ गते विराटनगरबाट सुरु भएको ‘शिक्षा संवाद’ अभियान धनगढीमा पुगेर सम्पन्न भएको हो। अभियानअन्तर्गत विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल र सुर्खेतमा समेत शिक्षा संवाद कार्यक्रम आयोजना गरिएको थियो।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार