एकता होटल एन्ड गेस्ट हाउस एसोसिएसनको १४औँ साधारणसभा सम्पन्न, पर्यटन विकासमा सरकार–निजी क्षेत्र सहकार्यमा जोड



काठमाडौं । एकता होटल एन्ड गेस्ट हाउस एसोसिएसन नेपालको १४औँ वार्षिक साधारणसभा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको छ। साधारणसभामा होटल तथा गेस्ट हाउस व्यवसायको वर्तमान अवस्था, व्यवसायीका समस्या, पर्यटन प्रवद्र्धन तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यका विषयमा धारणा राखे।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, बागमती प्रदेशका सचिव दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्य तथा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव धमलाको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा पर्यटन मन्त्रालयका पर्यटन विज्ञ एवं वातावरणविद् पीके शेर्पा, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य ऋषिकुमार चौंलागाईं, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका महासचिव सुनील अर्याल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बराल, होटल संघ नेपालका विनयकुमार शाह, पूर्वअध्यक्ष मोहन थेबेलगायत होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

त्यस्तै एकता होटल एन्ड गेस्ट हाउस एसोसिएसनका संस्थापक अध्यक्ष ज्ञानु गजमेर, कलंकी होटल एन्ड गेस्ट हाउस एसोसिएसनका अध्यक्ष कुमार श्रेष्ठ, सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवीप्रसाद कँडेल, नेपाली होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष काजीबहादुर कटुवाल, बालाजु होटल व्यवसायी संघका अध्यक्ष सूर्यबहादुर खाती, काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुवबहादुर कार्की, विमानस्थल हवाई यात्रु व्यवस्थापन लिमिटेडका अध्यक्ष पुरुषोत्तम सिंखडा, बत्तीसपुतली व्यापार संघका महासचिव पुष्कर धिमिरे, काठमाडौं महानगरपालिका–९ का वडा सदस्य टेकबहादुर अधिकारी, प्रहरी वृत्त गौशालाका प्रमुख प्रकाश श्रीमललगायत होटल व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रमको शुभारम्भमा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष प्रज्वल श्रेष्ठले स्वागत मन्तव्य राख्दै उनले संस्थाको उद्देश्य, गतिविधि तथा व्यवसायीबीचको एकताको महत्वबारे धारणा राखेका थिए।

त्यसैगरी अध्यक्ष सरोज आलेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एसोसिएसनले सञ्चालन गरेका गतिविधि, व्यवसायीका हकहितका लागि गरिएका पहल, व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा आगामी कार्यदिशाबारे जानकारी गराएका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सचिव दीपेन्द्र सुवेदीले नेपालको पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे। पर्यटन क्षेत्रबाट व्यवसायीले मात्र नभई राज्यले समेत आर्थिक लाभ प्राप्त गर्ने भएकाले पर्यटन प्रवद्र्धनलाई साझा प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

नेपालमा पर्यटक आगमन बढाउनु सरकार र व्यवसायी दुवैको साझा लक्ष्य भएको उल्लेख गर्दै उनले पर्यटकको संख्या बढाउन निजी क्षेत्र, सरकार तथा पर्यटनसँग सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। पर्यटन व्यवसाय विस्तार हुँदा राज्यको राजस्वसमेत बढ्ने भएकाले व्यवसायीलाई सहज हुने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

सुवेदीले होटल तथा पर्यटन व्यवसायीले उठाउँदै आएका कानुनी तथा नीतिगत विषयमा सरकारले आवश्यक सुधारका लागि काम गरिरहेको बताए। व्यवसाय सञ्चालनमा सहजता ल्याउने उद्देश्यले कानुनी व्यवस्थालाई समयअनुकूल बनाउँदै लैजाने सरकारको नीति रहेको उनले स्पष्ट पारे।

कानुनको पालना गर्नु व्यवसायी तथा नागरिक सबैको दायित्व भएको उल्लेख गर्दै उनले प्रचलित कानुनी व्यवस्था पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरे। पर्यटन कार्यालयमा अझै ठूलो संख्यामा होटल तथा व्यवसाय दर्ता नभएको विषयमा चिन्ता व्यक्त गर्दै उनले दर्ता प्रक्रियामा नआएका व्यवसाय राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट वञ्चित हुन सक्ने बताए।

नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएको उल्लेख गर्दै सुवेदीले नेपालको प्रकृति, संस्कृति, धार्मिक सम्पदा तथा साहसिक पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवद्र्धन गर्नुपर्ने बताए। हिमाल आरोहण, बन्जी, प्याराग्लाइडिङलगायत पर्यटनका विविध सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न सके मुलुकको अर्थतन्त्रमा पर्यटनको योगदान थप बढ्ने उनको भनाइ थियो।

पर्यटकीय तथा धार्मिक स्थलको पूर्वाधार विकास, सेवा–सुविधाको विस्तार र प्रभावकारी प्रचारप्रसारमार्फत पर्यटकको बसाइ लम्ब्याउन सकिने उल्लेख गर्दै उनले पर्यटन क्षेत्रको विकासमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए। बागमती प्रदेश सरकारले पर्यटक आगमन बढाउन गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए।

कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य ऋषिकुमार चौंलागाईंले व्यवसायीका साना–साना समस्या पनि सरकारले गम्भीरतापूर्वक सुन्नुपर्ने धारण राखे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु तथा पाहुना लिन जाने व्यवसायीले केहि समय प्रतीक्षालयमा बस्नुपर्ने बाध्यता हुन्छ ,प्रतीक्षालयमा छिर्न शुल्क तिर्नुपर्ने व्यवस्था व्यावहारिक नभएको उनको भनाइ थियो।

“पाहुना लिन जाँदा कहिले घाम लागे हुन्छ, त कहिले पानी परे को हुन्छ ओत लाग्नु बाध्यता छ त्यसको लागी शुल्क तिर्नुपर्छ,” उनले भने, “व्यवसायीका यस्ता समस्यालाई सरकारले सुन्ने वातावरण कहिले बन्छ ?” उनको प्रश्न थियो ।

उनले व्यवसायीका साना–ठूला समस्यालाई बेवास्ता नगरी भुइँ तहमा व्यवसाय गर्ने व्यवसायीको आवाजसमेत राज्यले सुन्नुपर्ने धारण राखे।

त्यस्तै जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले विमानस्थलको यात्रु सहायता कक्षसँग सम्बन्धित गुनासो बढिरहेको भन्दैविमानस्थलबाट होटलमा आउने पाहुनालाई आफूले बुक गरेको होटलमा नपुर्‍याई अन्यत्र लैजाने गरेको गुनासो बयक्त गरे । यस्तो गतिविधिले यात्रु तथा पर्यटक ठगीमा पर्ने मात्र नभई व्यवसायीले बुकिङ गरेको कोठा खाली हँदा ब्यपार घाटा ब्यहोर्नु पर्ने अवस्था सिर्जना भएको बरालको भनाइ थियो। लामो समयदेखि भइरहेको यस्तो गतिविधिलाई सरकारले गम्भीरतापूर्वक लिएर आवश्यक नियमन र कारबाही गर्नुपर्ने उनले माग गरे।
साधारणसभामा सहभागी अन्य वक्ताले पनि होटल तथा पर्यटन व्यवसायको दिगो विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य र संवाद आवश्यक रहेको बताए। व्यवसायीका कानुनी तथा व्यावहारिक समस्या समाधान, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा तथा सेवा गुणस्तर सुधारमा सबै पक्षले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने उनीहरूको भनाइ थियो।

साधारणसभाका अवसरमा एसोसिएसनले एस ईई परीक्षामा सफलता हासिल गरेका (व्यवसायीका छोराछोरी ) १५ जना छात्र छात्रा, दुई व्यवसायी र संस्थाको पूर्वकार्य समितिमा रहेर योगदान पुर्‍याएका पदाधिकारी तथा सल्लाहकारलाई समेत सम्मान गरिएको थियो। संस्थाले व्यवसायी परिवारका विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै संस्थाको विकासमा योगदान पुर्‍याउने अग्रजको योगदानको सम्मान गर्ने उद्देश्यले यस्तो कार्यक्रम गर्दै आएको जनाएको छ।

साधारणसभाले संस्थाको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा व्यवसायीको हकहित संरक्षण, पर्यटन प्रवद्र्धन, संस्थागत सुदृढीकरण तथा सम्बन्धित सरकारी निकायसँग समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको कार्यक्रम एसोसिएसनका महासचिव अनिश बानियाँले सञ्चालनगरेका थिए।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार