काठमाडौं, नेपाल हेभी इक्वीपमेन्ट राष्ट्रिय स्वतन्त्र अपरेटर संघको विशेष महाधिवेशन तथा सम्मान कार्यक्रम मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। संघका अध्यक्ष सन्तोषकुमार श्रेष्ठको अध्यक्षता तथा संघीय प्रतिनिधिसभाका सांसद धर्मेन्द्र कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हेभी इक्वीपमेन्ट अपरेटरहरूको पेशागत हकहित, योगदान र समस्याका विषयमा छलफल गरिएको छ।
महाधिवेशनका क्रममा उत्कृष्ट जिल्ला तथा प्रदेश संघ, उत्कृष्ट चालक, आजीवन सदस्य तथा पूर्वअध्यक्षलगायतलाई सम्मान गरिएको थियो। साथै, विशेष महाधिवेशनबाट संघको नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका रहेको संघले जनाएको छ। उद्घाटन कार्यक्रमको सञ्चालन संघका महासचिव डिबिराज खड्काले गरेका थिए।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफू विगत एक दशकदेखि श्रमिक आन्दोलनमा सक्रिय रहँदै आएको बताउँदै एउटा जिल्लाबाट सुरु भएको संघ अहिले ६३ जिल्लामा विस्तार भएको जानकारी दिए। उनले हेभी इक्वीपमेन्ट अपरेटरहरू देशको पूर्वाधार विकासका मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूलाई एकताबद्ध गरी पेशागत हकहितका विषयमा संगठित रूपमा आवाज उठाउने उद्देश्यले संघ अघि बढिरहेको बताए।
केही कार्यसमितिका सदस्य वैदेशिक रोजगारीमा गएकाले विशेष महाधिवेशन आयोजना गर्नुपरेको अध्यक्ष श्रेष्ठले बताए। उनले सातै प्रदेशका उत्कृष्ट जिल्ला संघ, उत्कृष्ट प्रदेश संघ, चालक, आजीवन सदस्य तथा पूर्वअध्यक्षलगायतलाई सम्मान गरिएको जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले व्यवसायी र अपरेटरका समस्याको पहिचान गरी उचित समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। समस्यामा परेका व्यवसायी तथा अपरेटरलाई दयाभन्दा पनि कानुनी दायरामा रहेर आवश्यक सहयोग गरिने बताउँदै उनले समस्या र समाधानका उपायसहित लिखित सुझाव पेश गर्न संघलाई आग्रह गरे। विगतका कमजोरी सुधार गर्दै देशलाई अघि बढाउनु वर्तमान सरकारको जिम्मेवारी रहेको उनको भनाइ थियो।
विशेष अतिथि सांसद धर्मेन्द्र कार्कीले आफू पनि लामो समय यातायात व्यवसायमा संलग्न रहेकाले व्यवसायी तथा अपरेटरका समस्या नजिकबाट बुझेको बताए। उनले विगतमा लामो भाषण हुने तर काम नहुने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै भौतिक पूर्वाधार विकासका संवाहकका रूपमा रहेका हेभी इक्वीपमेन्ट अपरेटरलाई विशेष प्रोत्साहन र सुविधा उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए।
संविधानसभा सदस्य तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) का अध्यक्ष विनोद श्रेष्ठले हेभी इक्वीपमेन्ट अपरेटरले व्यहोर्दै आएको जोखिमको उचित मूल्यांकन हुन नसकेको बताए। प्राविधिक सीप र ठूलो जिम्मेवारी बोकेका अपरेटरलाई विकासको साझेदारका रूपमा राज्यले स्वीकार गर्नुपर्नेमा उनले जोड दिए।
उनले न्यायपूर्ण श्रम सम्बन्ध कायम गर्नुपर्ने, रोजगारदाताको इच्छाअनुसार श्रमिकलाई हटाउने प्रवृत्ति अन्त्य हुनुपर्ने तथा समयमै उचित पारिश्रमिक उपलब्ध हुनुपर्ने बताए। लामो श्रमिक आन्दोलनबाट प्राप्त योगदानमा आधारित सामाजिक सुरक्षाको प्रत्याभूति राज्यले गर्नुपर्ने र प्रविधिमा आएको परिवर्तनअनुसार अपरेटरको सीप अद्यावधिक गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले पूर्वाधार निर्माण तथा यातायात क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपरेटरको रोजगारीको स्थायित्व, नियुक्तिपत्र, उचित पारिश्रमिक र कार्यस्थल सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताए।
नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माले पूर्वाधार विकासका आयोजना दिगो र वातावरणमैत्री हुनुपर्नेमा जोड दिए। पहाड र प्रकृति विनाश गरेर नभई पहाड, नदी तथा प्राकृतिक स्रोतको संरक्षण गर्दै विकास निर्माण अघि बढाउनुपर्ने उनको भनाइ थियो। उनले हेभी इक्वीपमेन्ट अपरेटरको महत्व र योगदानलाई राज्य तथा समाजले उचित रूपमा स्वीकार गर्नुपर्ने बताए।
त्यस्तै, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले लामो समयदेखि श्रमिक तथा श्रमजीवीका हकहितका विषय पर्याप्त रूपमा सम्बोधन हुन नसकेको बताए। सबै ट्रेड युनियनसम्बन्धी ऐन तथा कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।
महाधिवेशनले हेभी इक्वीपमेन्ट अपरेटरका पेशागत अधिकार, श्रम सुरक्षा, सामाजिक सुरक्षा, उचित पारिश्रमिक र सीप विकासका विषयलाई प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ।







