दुःख व्यक्त गर्दै नाडाले भन्यो-‘विपद्को घडीमा सरकार र नागरिकको साथमा छौँ’



काठमाडौं । रसुवाको भोटेकोशीकाे बाढीबाट भएकाे क्षतिप्रति अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले दुःख व्यक्त गरेको छ। नाडाले बाढीबाट प्रभावित नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको सरकारको प्रशंसा गरेको छ। साथै, विपद्को यस घडीमा सरकार र नागरिकको साथमा नाडा रहेको जनाएको छ।

रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापार तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि महत्वपूर्ण क्षेत्र भएकाले बाढीबाट भएको क्षतिले व्यवसाय तथा आपूर्ति व्यवस्थामा गम्भीर असर पार्न सक्ने नाडाको भनाइ छ। नाडामा आबद्ध सदस्य तथा अटोमोबाइल व्यवसायीका सवारीसाधन तथा सामान भन्सार क्षेत्रमा रहेको भए पनि त्यसको यकिन तथ्यांक प्राप्त भइनसकेको जनाएको छ।

सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा भएको क्षतिको तत्काल विस्तृत मूल्यांकन गरी पुनःस्थापनाको काम अघि बढाउन नाडाले सरकारसँग आग्रह गरेको छ। साथै, रसुवा–केरुङ नाकाबाट हुने व्यापारिक गतिविधि सुरक्षित र सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

बाढीका कारण सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न पनि नाडाले आग्रह गरेको छ। क्षतिग्रस्त सवारीसाधनको पहिचान तथा मूल्यांकन, बीमा दाबी र भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राख्दै सरल तथा छिटो बनाउनुपर्ने नाडाको धारणा छ।

नाडाले विपद्को कठिन अवस्थामा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न नाडा तयार रहेको समेत जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार