काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।
देशभर अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण धेरै परिवार प्रभावित भइरहेका बेला नाडाले अटो शोको अन्तिम समयलाई राहत कोषमा योगदान गर्ने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको हो।
नाडाका प्रतिनिधिका अनुसार अटो शोको अन्तिम तीन घण्टामा संकलन हुने टिकट शुल्क पीडितसम्म पुर्याउने उद्देश्य राखिएको छ। उक्त समयमा अटो शो अवलोकन गर्न आउने प्रत्येक व्यक्तिको सहभागिता राहत अभियानमा प्रत्यक्ष योगदान बन्ने नाडाले जनाएको छ।
काठमाडौँको भृकुटीमण्डपमा जारी अटो शोमा सहभागी भई परोपकारी अभियान सफल बनाउन नाडाले सर्वसाधारणलाई अपिल गरेको छ। संकलित सम्पूर्ण रकम निष्पक्ष र पारदर्शी ढंगले आधिकारिक राहत कोषमार्फत प्रभावित क्षेत्रका पीडितसम्म तत्काल पुर्याइने नाडाले जनाएको छ।






